वीरगञ्ज,
पर्सा – आगामी निर्वाचन लक्षित सामाजिक र धार्मिक द्वेष फैलाउने उद्देश्यले सुतली बम र सुँगुरको टाउको बोकेर हिँडिरहेका तीन जनालाई प्रहरीले वीरगञ्ज–१६ इनरवा गाउँ क्षेत्रबाट पक्राउ गरेको छ। पक्राउ परेकाबाट ९ सुतली बम, एउटा सुँगुरको टाउको र १० मिटर वायरिङ तार बरामद भएको छ।
पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकका अनुसार, उनीहरूलाई निर्वाचन भाँड्ने र साम्प्रदायिक तनाव सिर्जना गर्ने योजना बनाएर हिँडिरहेको आशंका गरिएको छ। घटनापछि सुरक्षा कडा पारिएको छ र नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले निगरानी र सर्च अभियान सञ्चालन गरिरहेको छ।
प्रहरीले उनीहरूविरुद्ध विस्फोटक पदार्थ सम्बन्धी कसुर र सार्वजनिक शान्ति विरुद्धको मुद्दा चलाउने तयारी गरिरहेको छ।








