दुर्गा प्रसाईंको रिहाइको माग गर्दै पर्साको वीरगञ्जस्थित घण्टाघर चोकमा आज प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूले टायर बाल्दै नाराबाजी गरेका थिए।
प्रदर्शनका कारण केही समय सो क्षेत्रमा यातायात आवागमन अवरुद्ध भएको थियो। प्रदर्शनकारीहरूले “दुर्गा प्रसाईंलाई तत्काल रिहा गर”, “अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर” लगायतका नारा लगाउँदै सरकारविरुद्ध विरोध जनाएका थिए।
प्रदर्शनमा सहभागीहरूले दुर्गा प्रसाईंलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको दाबी गरेका छन्। उनीहरूले अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको आरोप लगाउँदै तत्काल रिहाइको माग गरेका छन्।









