मेवालाल यादव
बारा निर्वाचन क्षेत्र नम्बर -४ मा राष्ट्र निर्माण दल नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समिम मिया अन्सारीले घरदैलो अभियानलाई विस्तारै अघि बढाउँदै लगिरहेका छन् । चुनाव नजिकिँदै जाँदा उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा र प्रतिबद्धता राख्न थालेका हुन् ।

यसैक्रममा बिहीबार फेटा गाउँपालिका वडा नम्बर -३ फेटा , गम्हरियामा आयोजित भेटघाट कार्यक्रममा उम्मेदवार अन्सारीले स्थानीय मतदातासँग संवाद गरेका थिए । भेटका क्रममा उनले आगामी निर्वाचनमा राष्ट्र निर्माण दल नेपालको चुनाव चिन्ह ‘पानीको बोलत छाप’मा मतदान गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा अन्सारीसँगै राष्ट्र निर्माण दल नेपालका महासचिव माेहम्मद जाकिर हुसैन , सचीव गुरुदेव राम , सदस्य तथा राष्ट्र युवा मञ्चका केन्द्रिय अध्यक्ष मेवालाल कुमार यादव , कार्यालय मुख्यसचिव अफरोज अर्पण लगायत राष्ट्र निर्माण दल नेपालका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उनीहरूले घरदैलो अभियानमार्फत जनताको गुनासो सुन्नुका साथै विकास, रोजगारी र समावेशी प्रतिनिधित्वका विषयमा पार्टीको धारणा प्रस्तुत गरेका थिए ।

स्थानीय बासिन्दाहरूले पनि उम्मेदवारसँग प्रत्यक्ष भेटघाट हुन पाएकोमा खुसी व्यक्त गर्दै आफ्नो क्षेत्रका समस्या समाधानका लागि स्पष्ट प्रतिबद्धता अपेक्षा गरेका छन् । राष्ट्र निर्माण दल नेपालका उम्मेदवार अन्सारीले जनताको सुझाव र विश्वासकै आधारमा समृद्ध र न्यायपूर्ण समाज निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।









