वीरगन्ज, १३ माघ। पर्सा क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले यसपटक पनि कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरेका छन्।
पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर–५ झखरा मसिहानीमा मंगलबार आयोजित कांग्रेसको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा सो क्षेत्रका निवर्तमान सांसद समेत रहेका रिजालले उच्च मनोबलका साथ चुनावी अभियानमा लाग्न कांग्रेसका नेता–कार्यकर्तालाई आग्रह गरे।
उनले कांग्रेसको नेतृत्व युवातर्फ पुस्तान्तरण भएसँगै देशभर पार्टीप्रति जनलहर बढेको उल्लेख गर्दै कार्यकर्ता तथा समर्थकहरूमा नयाँ ऊर्जा थपिएको बताए। कांग्रेसलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने ठोकुवा पनि उनले गरे।
पर्सा–४ का मतदाताको घरदैलोमा पुग्दा कांग्रेस नेतृत्वमा रहेका पालिका तथा वडामा जनप्रतिनिधिहरूले गरेका विकास निर्माण र जनमुखी कामबारे स्पष्ट रूपमा जानकारी गराउनुपर्नेमा उनले जोड दिए।
“हरेक कार्यकर्ताले यो चुनावलाई आफ्नै प्रतिष्ठाको विषय बनाएर लाग्नुपर्छ,” रिजालले भने।
रिजालले यसपटकको निर्वाचनलाई आफ्नो अन्तिम राजनीतिक लडाइँको रूपमा लिएको उल्लेख गर्दै आगामी निर्वाचनका लागि युवा तथा नयाँ नेतृत्वलाई संसदीय चुनावको तयारी गर्न आह्वानसमेत गरे।
कांग्रेसका क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भेलामा मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर चौधरी, कांग्रेस मधेस प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, जिल्ला सह–सचिव नविन सिंह, नेता बशिष्ठ नारायण कुर्मीलगायतको सहभागिता रहेको क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए।









