२०८२ फाल्गुन १९ गते मंगलवार

गौरस्थित प्रादेशिक अस्पतालमा सुधारका सकारात्मक संकेत रौतहट

मेवालाल यादव

गौर । रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा सुधारका प्रारम्भिक चरणहरू सकारात्मक रूपमा देखिन थालेका छन्। जिल्लाको सदर अस्पतालको रूपमा रहेको उक्त प्रादेशिक अस्पतालको व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्हालेपछि अबधेश यादवको सक्रिय पहलका कारण सुधारका पक्षहरू देखिएको हो। अध्यक्ष यादवको नेतृत्वमा सरसफाइ, आन्तरिक व्यवस्थापन तथा कार्यसम्पादन अघिल्लो अवस्थाको तुलनामा उल्लेख्य रूपमा सुधारिएको देखिएको छ।

अस्पतालमा कार्यरत कर्मचारीहरूसँगको राम्रो सहकार्य र समन्वयका कारण सेवा प्रवाहमा क्रमशः सुधार हुँदै गएको सरोकारवालाहरूले बताएका छन्। सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष यादवले उपचारका लागि आवश्यक औषधि तथा सामग्रीको व्यवस्थापन चुस्त–दुरुस्त बनाइने, कर्मचारीहरूसँग नियमित छलफल तथा अन्तरक्रिया गरिने र आपूर्ति तथा व्यवस्थापनका विषयमा जिम्मेवार स्वास्थ्यकर्मी तथा चिकित्सकहरूसँग समन्वय बढाइने जानकारी दिनुभएको छ।
यसैगरी, सेवाग्राहीले समयमै उपचार पाउने वातावरण सिर्जना गर्ने, नियमित सरसफाइ कायम राखी स्वच्छ अस्पताल वातावरण बनाउने, बिरामीको स्वास्थ्यप्रति गम्भीर र जिम्मेवार हुन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रेरित गर्ने तथा नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने औषधिको आपूर्ति समयमै सुनिश्चित गर्ने विषयमा पनि ध्यान दिनुपर्ने सुझाव दिइएको छ। अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका युवा अध्यक्ष यादवले अस्पताल मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील संस्था भएकाले सबै पक्षसँग राय, सल्लाह र सुझाव लिएर थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM