२०८२ फाल्गुन १९ गते मंगलवार

बि.ओ.पी. बलिनगरको टोलीद्वारा दशगजामा मकैसहितको पिकअप नियन्त्रणमा ।

रबिन्द्र यादव / परासी

नेपाल–भारत सीमावर्ती क्षेत्रमा पछिल्लो समय बढ्दै गएको अवैध तस्करी नियन्त्रणका क्रममा सुरक्षाकर्मीले ठूलो परिमाणको मकैसहित पिकअप गाडी नियन्त्रणमा लिएका छन्। यस घटनाले केही दिनअघि सोही नाका हुँदै भएको आशंका गरिएको लहसुन तस्करी प्रकरणसँग समेत सम्बन्ध गाँसिएको देखिएको छ, जसका कारण अनुसन्धान थप तीव्र बनाइएको छ।

आज बिहान करिब ०६:१० बजे, जिल्ला पश्चिम नवलपरासी (सुस्ता) गाउँपालिका–५, सकरदिनही स्थित दशगजा नजिकै, भन्सार छलि नेपालबाट भारततर्फ लैजान लागिएको अवस्थामा मकै बोकेको पिकअप गाडी नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएको सामानमा अन्दाज मूल्य रु. २,९४,०००/- बराबरको मकै ९८ बोरा (अन्दाजी २,९४० के.जी.) तथा उक्त ढुवानीमा प्रयोग गरिएको लु ३ च ३३२६ नम्बरको पिकअप गाडी, जसको अन्दाजी मूल्य रु. १३,००,०००/- रहेको छ। यसरी जम्मा रु. १५,९४,०००/- बराबरको मकैसहितको पिकअप गाडी बरामद गरिएको हो।

उक्त मकै र पिकअप गाडीलाई बि.ओ.पी. बलिनगरका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक पदम बहादुर पुन मगरको नेतृत्वमा खटिएको टोली तथा प्रहरी चौकी रामनगरको संयुक्त टोलीले नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया पूरा गरी आजै बिहान १०:३० बजे महेशपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

यसै घटनाको पृष्ठभूमिमा, केही दिनअघि भारतीय सीमा सुरक्षा बल (SSB) ले ठूलो परिमाणमा अवैध रूपमा ओसारपसार गरिएको लहसुन नियन्त्रणमा लिएको घटना सार्वजनिक भएको थियो। सो लहसुन यही नाका हुँदै भारत प्रवेश गरेको हुन सक्ने आशंका गरिएपछि सीमावर्ती क्षेत्रमा भइरहेको तस्करी गतिविधिबारे सुरक्षा निकायको चासो थप बढेको हो।

तस्करीसम्बन्धी विषयलाई लिएर त्यहाँ कार्यरत बि.ओ.पी. बलिनगरका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक पदम बहादुर पुन मगरलाई समेत सोधपुछका लागि बाहिनी बोलाइएको स्रोतले जनाएको थियोे। यसले सीमावर्ती क्षेत्रमा भइरहेको अवैध गतिविधि नियन्त्रणमा उच्च तहबाट समेत निगरानी र अनुसन्धान भइरहेको संकेत गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM