मेवालाल यादव
रौतहट । आसमान नेपाल तथा मर्सी कोर नेपालको संयुक्त साझेदारीमा सञ्चालनमा रहेको जलवायु उत्थानशील समुदाय (Climate Resilient Community–CRC) परियोजनाले परोहा नगरपालिका वडा नं. ४ मा सन् २०२५ का लागि पालिका तथा समुदाय स्तरमा सञ्चालन गरिएका सम्पूर्ण वार्षिक क्रियाकलापहरूको सामाजिक/सार्वजनिक लेखा परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। सामाजिक लेखा परीक्षणमार्फत CRC परियोजनाअन्तर्गत पालिका र समुदाय तहमा कार्यान्वयन गरिएका गतिविधिहरूको विस्तृत विवरण सार्वजनिक गरिएको थियो।

कार्यक्रममा आपतकालीन कार्यसञ्चालन केन्द्र (EOC) का लागि आवश्यक सामग्री हस्तान्तरण, नियमित मासिक बैठक सञ्चालन, खोज तथा उद्धार तालिम, प्राथमिक उपचार तालिम, पूर्वसूचना प्रणालीसम्बन्धी तालिम, ‘एक घर एक बिरुवा’ अभियान, तातो हावाको लहर (Heatwave) सम्बन्धी विद्यालयस्तरीय अनुसन्धान तथा कृत्रिम घटना अभ्यास, साथै अन्तर्राष्ट्रिय विपद् व्यवस्थापन दिवस मनाइएका कार्यक्रमहरूबारे जानकारी गराइएको थियो। यसै परियोजनाअन्तर्गत परोहा नगरपालिका वडा नं. ४ स्थित लौकाहा स्वास्थ्य चौकीमा स्वास्थ्य चौकी मर्मतसम्भार, हिट रिफ्लेक्टिभ पेन्ट लगाउने कार्य तथा शेड निर्माण कार्य अन्तिम चरणमा रहेको जानकारी दिइएको थियो। सो अवसरमा पालिका प्रतिनिधिहरूले स्थलगत अनुगमन गरी कार्यहरूको अवस्था र प्रगतिसम्बन्धी अद्यावधिक विवरण सार्वजनिक लेखा परीक्षण कार्यक्रममा प्रस्तुत गरेका थिए।
CRC परियोजनामार्फत पोखरिया स्वास्थ्य चौकीलाई तातो हावाको लहर न्यूनीकरण तथा स्वास्थ्य सेवा प्रवाह सुदृढीकरणका लागि वाल फ्यान, सिलिङ फ्यान, स्ट्यान्ड फ्यान, वाटर फिल्टर, वाटर डिस्पेन्सर, डिप फ्रिजर, सोलार ब्याकअप प्रणाली तथा फायर एक्स्टिङ्गुइशर हस्तान्तरण गरिएको थियो। सामग्री हस्तान्तरण सामाजिक लेखा परीक्षणको अन्तिम सत्रमा परोहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मो. मोहफुज अहमद, वडा नं. ४ का अध्यक्ष जवाहरलाल यादव तथा CDMC का संयोजकहरूको उपस्थितिमा सम्पन्न भएको हो। त्यसैगरी, पोखरिया सामुदायिक विपद् व्यवस्थापन समितिलाई लाइफ ज्याकेट, रेस्क्यु रोप, सेफ्टी हेल्मेट, बेल्चा, एल्युमिनियम ट्यांकी, फर्स्ट एड बक्स, ह्विसल, इमरजेन्सी लाइट, कम्बल, त्रिपाल, ह्यान्ड साइरन, स्ट्रेचर, मेगाफोन तथा गमबुटलगायतका खोज तथा उद्धार सामग्रीहरू वितरण गरिएको थियो। सामाजिक लेखा परीक्षण कार्यक्रममा संस्थाका तर्फबाट शम्भु राज कर्णा र राकेश कुमार पण्डितले सहजीकरण गर्दै सामाजिक लेखा परीक्षणको उद्देश्य, प्रक्रिया र महत्वबारे सहभागीहरूलाई जानकारी गराएका थिए। साथै आगामी वर्षमा सञ्चालन गर्न सकिने कार्यक्रमहरूका लागि सरोकारवालाहरूबाट सुझाव तथा प्रतिक्रिया संकलन गरिएको थियो। परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, विपद् शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, जिन्सी शाखा प्रमुख, पोखरिया स्वास्थ्य चौकीका प्रमुख एवं कर्मचारीहरू तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।सहभागीहरूले CRC परियोजनाले विपद् जोखिम न्यूनीकरण, स्वास्थ्य सेवा प्रवाह सुदृढीकरण तथा जलवायु परिवर्तनबाट प्रभावित समुदायको उत्थानशीलतामा सकारात्मक योगदान पुर्याएको धारणा व्यक्त गरेका थिए। CRC परियोजनाको पारदर्शिता, जवाफदेहिता र समुदायप्रतिको उत्तरदायित्व सुदृढ गर्न सार्वजनिक लेखा परीक्षणले महत्वपूर्ण भूमिका खेलेको निष्कर्ष निकाल्दै कार्यक्रम औपचारिक रूपमा प्रमुख प्रशासकीय अधिकृतद्वारा समापन गरिएको थियो।









