२०८२ फाल्गुन १९ गते मंगलवार

मन्त्रिपरिषद् पुनर्गठन, सचेतक यादवलाई सभामुख बनाइने 

मेवालाल यादव

मधेश प्रदेशका माननीय प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मिति २०८२/०८/२९ गते मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ।

 

मुख्यमन्त्री यादवको सिफारिसमा नियुक्त भएका मन्त्रीहरूले सोमबार प्रदेश प्रमुख कर्णबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

 

पुनर्गठनअनुसार, लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने माओवादी केन्द्रका जवाहरलाल कुश्वाहाले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय , महेश यादवले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ।

 

यसैगरी, यसअघि बिना विभागीय मन्त्रीका रूपमा रहेका नेपाली कांग्रेसका जंगिलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

 

पुनर्गठनपछि पनि केही मन्त्रालयहरू हाल मुख्यमन्त्री मातहतमा रहेका छन्। ती मन्त्रालयहरूमा भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, खेलकुद तथा समाज कल्याण, गृह, सञ्चार तथा कानून, वन तथा वातावरण र श्रम तथा यातायात मन्त्रालय रहेका छन्।

 

मन्त्रिपरिषद् पुनर्गठनसँगै मधेश प्रदेश सरकारको कार्यक्षमता अभिवृद्धि हुने तथा सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।मुख्यमन्त्री यादवले भने पुस ४ गते अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिनेछन् ।सभामुखका लागि भने सात दलले जसपा नेपाललाई दिने सहमति गरिसकेको छ । जसपा नेपालबाट प्रमुख सचेतक रामाशिष यादवलाई सभामुख बनाइने तयारी छ । सोमबार नै प्रदेशसभा सचिवालयमा उपसभामुख बबिता राउत ईसरको अध्यक्षतामा बसेको दलको बैठकमा सभामुख चयनको प्रक्रिया अगाडि बढाउने सहमति भएको जसपाल नेपालका प्रमुख सचेतक यादवले जानकारी दिए । उनले सभामुख चयनका लागि पुस २ गते प्रदेशसभाको बैठक आह्वान गरिएको बताए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM