रौतहट जिल्लाको छोटी भन्सार बन्कुल र लतमरी क्षेत्र नेपाल–भारत सीमासँग प्रत्यक्ष रूपमा जोडिएका महत्त्वपूर्ण व्यापारिक मार्गका रूपमा रहेका छन्। बन्कुल क्षेत्र भारतको घोडासहन बजारसँग जोडिने प्रमुख नाका हो भने लतमरी क्षेत्र चौनपुर सीमा नजिक अवस्थित छ।
स्थानीयवासीका अनुसार, बन्कुलमा पहिलेदेखि नै छोटी भन्सार कायम रहेकाले दुवै देशका नागरिकहरू साना व्यापारीक गतिविधि, दैनिक उपभोग्य सामग्रीको आवत–जावत र स्थानीय अर्थतन्त्रमा सहजता पाउँदै आएका छन्। तर, चौनपुर सीमा नजिक रहेको लतमरी नाका अझै औपचारिक रूपमा सञ्चालनमा नआएकाले व्यापार, आवागमन र रोजगारीका अवसरमा अवरोध सिर्जना भएको स्थानीयको गुनासो छ।
स्थानीय बासिन्दाहरूले लतमरी नाका औपचारिक रूपमा खोल्न सम्बन्धित निकायसँग माग गरेका छन्। नाका सञ्चालनमा आएमा नेपाल–भारत सीमावर्ती क्षेत्रको व्यापार विस्तार, स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना र आर्थिक गतिविधि सशक्त हुने विश्वास स्थानीयले व्यक्त गरेका छन्।
स्थानीयको भनाइमा, सीमा नाका व्यवस्थित र नियमनसहित सञ्चालन गरिएमा अवैध कारोबार नियन्त्रण, राजस्व संकलन वृद्धि र सीमावर्ती क्षेत्रको समग्र विकास मा महत्वपूर्ण योगदान पुग्नेछ। यस विषयमा संघ, प्रदेश तथा स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै शीघ्र पहल गर्न स्थानीयले आग्रह गरेका छन्।









