२०८२ फाल्गुन १९ गते मंगलवार

राष्ट्र निर्माण दल नेपाल निर्वाचन आयोगमा दर्ता, काठमाडौँमा घोषणा–सभा तयारी

 

काठमाडौँ, ३ मंसिर।

अकबर खानको नेतृत्वमा रहेको राष्ट्र निर्माण दल नेपाल आज निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता भएको छ। दर्तासँगै दलले संगठन विस्तार, वैचारिक अभियान र वैकल्पिक राजनीतिक शक्ति निर्माणमा केन्द्रित हुने घोषणा गरेको छ।

 

दर्तापछि केन्द्रीय सम्पर्क कार्यालय सिनामंगलमा बसेको पहिलो बैठकले संगठन विस्तार, आगामी निर्वाचन तयारी र काठमाडौँमा हुने घोषणा–सभाबारे महत्वपूर्ण निर्णयहरू गरेको प्रवक्ता अफराज मन्सुरले बताए। दलले ३६ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ, जसमा विभिन्न प्रदेश र समुदायका प्रतिनिधि समावेश छन्।

 

आजै सुनसरी, मोरङ, कास्की, कपिलवस्तु, सप्तरी, धनुषा, रौतहट, पर्सा र काठमाडौंसहित नौ जिल्लामा पाँच सयभन्दा बढी युवाले सदस्यता लिएको दलको दाबी छ। पार्टीले ‘गोलो घेराभित्र पानीको बोतल’ चुनाव चिन्ह दर्ता गरेको छ।

 

दलका उपाध्यक्ष खगेन्द्रप्रसाद ढकालका अनुसार राष्ट्र निर्माण दल नेपालको उदय देशमा बढ्दो आर्थिक अव्यवस्था, शासनप्रतिको असन्तुष्टि र युवा पुस्तामा वैकल्पिक राजनीतिक खोजका कारण भएको हो। दलले नेपाली मौलिकतामाथि आधारित समाजवादी दृष्टिकोण, सुशासन, धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव, सुधारिएको संघीयता र पारदर्शी राजनीतिक प्रणालीलाई मुख्य नीति मान्ने बताइएको छ।

 

दलले मंसिरको अन्तिम सातामा काठमाडौँमा विशाल घोषणा–सभा आयोजना गर्दै दीर्घकालीन नीति, कार्यदिशा र राष्ट्रिय पुनर्निर्माणको रोडम्याप सार्वजनिक गर्ने तयारी गरेको छ। पार्टीका अनुसार देशभरका विभिन्न समुदायका नेताहरू घोषणा–सभामार्फत औपचारिक रूपमा सार्वजनिक हुनेछन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM