२०८२ फाल्गुन १९ गते मंगलवार

वीरगञ्जको निजी अस्पतालमा कार्यरत पारामेडिकल स्वास्थ्यकर्मीहरू आन्दोलित, सेवा ठप्प पार्ने चेतावनी

वीरगञ्ज ।

वीरगञ्जका निजी अस्पतालमा कार्यरत पारामेडिकल स्वास्थ्यकर्मीहरूले लामो समयदेखि भोग्दै आएको श्रम शोषण, न्यून पारिश्रमिक र दमनकारी व्यवहारविरुद्ध बुधवार सशक्त विरोध प्रदर्शन गरेका छन् ।

नेपाल पारामेडिकल एसोसिएसन वीरगञ्ज महानगरसँग आबद्ध सीएमए, स्टाफ नर्स, अनमी, हेल्थ असिस्टेन्ट, रेडियोग्राफर, फार्मासिस्ट, फिजियोथेरापिस्टलगायतका स्वास्थ्यकर्मीहरूले सरकारी मापदण्डअनुसार तलब, सेवा सुविधा र श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै र्‍याली निकालेका हुन् ।

 

बिहान नारायणी अस्पताल अगाडि जम्मा भएका प्रदर्शनकारीहरूले “निजी अस्पताल स्वास्थ्यकर्मीहरूमाथिको श्रम शोषण बन्द गर”, “सेवा ठूलो, तलब सानो… कहिलेसम्म सहने ?”, “महँगो अस्पताल, सस्तो स्वास्थ्यकर्मी”, “श्रम शोषण बन्द गर” जस्ता नारा लगाउँदै घण्टाघरमा र्‍याली निकालेका थिए । र्‍याली घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो ।

 

 

 

कोणसभालाई सम्बोधन गर्दै सिमए संघका अध्यक्ष जितेन्द्र मह्तो सचीव राधेश्याम साह एसोसिएसनका अध्यक्ष विनय साहले निजी अस्पताल सञ्चालकहरूमाथि माफिया तन्त्र चलाएको आरोप लगाए । “अस्पताल सञ्चालकहरूसँग एम्बुलेन्स ड्राइभर र चिकित्सकहरूलाई कमिसन दिन पैसा छ, तर हाम्रो तलब बढाउन पैसा छैन,” उनले भने । मागको सुनुवाइ नभए भोलिदेखि नै पेन डाउन गरेर कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

 

त्यस्तै सह-सचिव कलामुदीन अन्सारीले स्वास्थ्य मन्त्रालयले पटक-पटक दिएको निर्देशनको बेवास्ता गर्दै निजी अस्पतालहरूले सरकारभन्दा माथि आफूलाई ठानेको बताए । “हामीलाई १० देखि १२ हजार रुपैयाँमा काम गर्न बाध्य पारिँदै छ । आजको महँगीमा त्यत्रो पैसाले के हुन्छ ? आफूलाई हेर्ने की परिवार पाल्ने ?” उनले प्रश्न गरे । उनले प्रत्येक निजी अस्पतालमा नेपाल सरकारको ऐनअनुसार तलब स्केल लागू हुनुपर्ने, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक बैंकिङ प्रणालीमार्फत उपलब्ध गराउनुपर्ने र प्रत्येक हप्ता ४२ घण्टा मात्र काम हुनुपर्ने माग गरे ।

स्वास्थ्यकर्मी कृष्ण निरालाले गत वर्ष मङ्सिरमा स्वास्थ्य मन्त्रालयले सरकारी सरह तलब र सुविधा उपलब्ध गराउन दिएको निर्देशन स्मरण गराए । “वर्षौँदेखि श्रम शोषण भइरहेको छ । स्थानीय प्रशासनलाई पटक-पटक आग्रह गर्दा पनि सुनुवाइ भएन, त्यसैले आन्दोलनमा उत्रिन बाध्य भयौँ,” उनले भने ।

 

निरालाले स्वास्थ्यकर्मीहरूको सुरक्षा र बिमा व्यवस्था हुनुपर्ने, उनीहरूको परिवारलाई निःशुल्क स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउनुपर्ने, बिदाको सेवा सुविधा तथा भत्ता व्यवस्था हुनुपर्ने र सरकारी स्वास्थ्य संस्थाका करार कर्मचारी हटाई प्रदेश लोकसेवा आयोगबाट स्थायी नियुक्ति गर्नुपर्ने माग राखे । उनले आवश्यक परे सम्पूर्ण निजी अस्पताल बन्द गरेर चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि दिए ।

 

कोणसभा पछि स्वास्थ्यकर्मीहरूले आफ्ना मागहरू समेटिएको ज्ञापन पत्र पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुझाएका छन् ।

 

प्रदर्शनले निजी स्वास्थ्य क्षेत्रमा श्रम अधिकारको गम्भीर मुद्दालाई उजागर गरेको छ । माग सम्बोधन नभए स्थानीय स्वास्थ्य सेवा प्रभावित हुने सम्भावना छ । सरकारी निकाय र अस्पताल सञ्चालकहरूले तत्काल पहलकदमी लिने अपेक्षा गरिएको सिमए संघका जिल्ला सह-सचिव म.रेयाज हुसेनले जानकारी गराएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM