अशोक यादव
बारा, १४ कार्तिक । बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका–१ चिउटाहाका सामाजिक अभियन्ता प्रदीप कुशवाहा र डी.के. सिंह लाई प्रहरीले पक्राउ गरेपछि स्थानीयवासी र नागरिक समाजले कडा आपत्ति जनाएका छन्।
स्थानीय स्रोतका अनुसार, इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शका प्रहरीले “बार्ताका लागि बोलाइएको” भन्दै दुबै जनालाई नियन्त्रणमा लिएको हो।
यी युवाहरू लामो समयदेखि गाउँपालिकामा भएको भ्रष्टाचार र अनियमितता विरुद्ध आवाज उठाउँदै आएका थिए।

स्थानीयहरूले गाउँपालिका प्रमुखकै निर्देशनमा दमनकारी शैलीमा गिरफ्तारी गरिएको आरोप लगाउँदै तत्काल रिहाइको माग गरेका छन्।
“गाउँमा भ्रष्टाचारको विरोध गर्ने युवालाई फसाउनु प्रहरीको कायरता हो,” — एक अभियन्ताको भनाइ।
यस विषयमा बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले भने,
“आदर्श कोतवाल गाउँपालिकाका विभिन्न शाखामा भएको आगजनी घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरिएको हो। अन्य व्यक्तिको खोजी पनि भइरहेको छ।”

तर नागरिक समाज र स्थानीय अभियन्ताहरूले यो आरोपलाई राजनीतिक प्रतिशोधको उपज बताउँदै भनेका छन् —
“भ्रष्टाचारविरुद्धको अभियान दबाउन झूटो मुद्दा लगाइएको हो। प्रहरीको यस्तो व्यवहार निन्दनीय छ।”

उनीहरूले न्यायिक अनुसन्धान र पक्राउ परेका युवाको विना शर्त रिहाइको माग गर्दै आन्दोलनको चेतावनी समेत दिएका छन्।
घटनाले आदर्श कोतवाल क्षेत्रमा राजनीतिक र प्रशासनिक तनाव बढाएको छ।
स्थानीय युवाहरूले सामाजिक सञ्जालमा “भ्रष्टाचारविरुद्ध बोल्ने अपराध हो?” भन्दै प्रश्न उठाएका छन्।









