२०८२ फाल्गुन १९ गते मंगलवार

जेन–जी आन्दोलनका नाममा अराजकता मच्चाउनेलाई कारबाही गर्न एमाले अध्यक्ष साहको माग

अशोक यादव

रौतहट । नेकपा (एमाले) पर्साका जिल्ला अध्यक्ष सचितानन्द साहले जेन–जी आन्दोलनको नाममा हत्या, हिंसा र विध्वंस मच्चाउने अराजक समूहलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष साहले जनमत पार्टीका अध्यक्ष प्रभु साहमाथि पनि तीखो प्रहार गरे । उनले भने, “प्रभु साह पाँच पटक मन्त्री भए तर जनताको हितका लागि केही गरेनन् । अहिले आफ्ना स्वार्थका लागि जनतालाई मादारीजस्तो नचाउँदै भ्रममा पार्ने काम गर्दै छन् ।”

अध्यक्ष साहले एमालेबाट निर्वाचित मौलापुर नगरपालिका प्रमुख रिना देवी साहका प्रसङ्ग उठाउँदै भने, “प्रभु साहले नैतिकता त्यागेर एमालेबाट टिकट लिएर जितेपछि फेरि स्वतन्त्र भई नयाँ पार्टी निर्माणमा लागेका छन् ।”

उनका अनुसार अहिले देश र जनताको हितका लागि एमाले र नेपाली कांग्रेसबीच सहकार्य हुँदै गएको छ, तर त्यसको सफलता देखेर अन्य दलका नेताहरू असहज भएर जेन–जी आन्दोलनजस्ता माध्यममार्फत अस्थिरता सिर्जना गर्न खोजिरहेका छन् ।

देवाहिगोना नगरपालिका वडा नं. ७, उचिडीहमा शनिबार आयोजित उक्त कार्यक्रममा अन्य वक्ताहरूले पनि देशको समृद्धि र स्थायित्वका लागि एमालेको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।

कार्यक्रममा रूपेश पटेलले बोलेका थिए — “देशमा भएका अधिकांश सकारात्मक परिवर्तन नेकपा (एमाले)कै कारण सम्भव भएका हुन् । पेन्सन, भत्ता र सामाजिक सुरक्षाका व्यवस्था एमाले सरकारकै उपलब्धि हुन्।”

कार्यक्रमको अध्यक्षता ब्रह्मदेव प्रसाद पटेलले गरेका थिए भने विशेष अतिथिका रूपमा मनिषकर निधि उपस्थित थिए । कार्यक्रममा गरुडा नगर कमिटी सदस्य अञ्जली साह, सदर आलमलगायत सयौं कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM