अशोक यादव
रौतहट। नेकपा (एमाले) का केन्द्रीय सदस्य कुन्दन कुशवाहाले जेन–जी आन्दोलनको नाममा हत्या, हिंसा र विध्वंस मचाउने अराजक समूहलाई तत्काल कारबाही गर्न सुशीला कार्की नेतृत्वको सरकारले हिम्मत देखाउनुपर्ने चुनौती दिएका छन्।
शुक्रवार रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर–६, स्थित पेटभर्वामा दीपावली, तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कुशवाहाले सरकारप्रति प्रश्न उठाउँदै भने —
> “प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले चाहेमा १० दिनभित्र ती अराजक तत्वहरूलाई नियन्त्रणमा लिन सक्छ, तर विदेशी इशारामा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्र दोषी ठहर्याउन व्यस्त देखिन्छ।”
शान्तिपूर्ण आन्दोलनलाई ‘ह्याक’ गरी हिंसात्मक बनाइयो:
कुशवाहाका अनुसार भदौ २३ गते काठमाडौंमा जेन–जी युवाहरूले भ्रष्टाचारविरुद्ध र सुशासनको मागमा गरेको शान्तिपूर्ण आन्दोलन जायज थियो, तर भदौ २४ गते उक्त आन्दोलनलाई “ह्याक” गरी देशी–विदेशी चलखेलमा हिंसात्मक रूप दिइयो।
“आन्दोलनको नाममा अराजक समूहले आफ्नै भाईबहिनीको छातीमा गोली हाने, सिंहदरबारदेखि ऐतिहासिक सम्पदासम्म जलाइयो, तर सरकार मौन छ,” उनले भनेका थिए।
कार्यक्रममा कुशवाहाले आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहमाथि तीव्र प्रहार गरेका थिए।
> “२०७४ सालको संविधानलाई उत्कृष्ट भन्दै सबै सभासदहरूले हस्ताक्षर गरे, तर साहले गरेनन्। संविधान अस्वीकार गर्नेले फेरि त्यही संविधान टेकेर सांसद र मन्त्री बन्ने — यो कस्तो नैतिकता हो?”
उनले आफू आम जनता पार्टीमा रहँदा विकासका नयाँ बाटोहरू खोलेको दाबी गर्दै भने —
“मैले पार्टी छोडेपछि प्रभु साहले एक इन्च बाटो पनि निकाल्न सकेनन्।”
भयमुक्त निर्वाचन सम्भव छैन:
कार्यक्रमका अर्का बक्ता तथा एमाले नेता उपेन्द्र साहले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन भयमुक्त वातावरणमा सम्भव नहुने टिप्पणी गरेका थिए।
“जेन–जी आन्दोलनपछि भागेका हजारौँ कैदी र प्रहरीबाट लुटिएका हतियार अझै फिर्ता आएका छैनन्। यस्तो अवस्थामा निष्पक्ष र भयमुक्त निर्वाचन कसरी सम्भव हुन्छ?” उनले प्रश्न उठाए।
उपेन्द्र साहले प्रभु साहमाथि थप टिप्पणी गर्दै भने —
“प्रभु साहले एमाले अध्यक्ष ओलीलाई गाली गर्छन्, तर उनकी श्रीमती रिना कुमारी साह मौलापुर नगरपालिकाको मेयर बनेकी छन् भने एमालेकै टिकटमा। साहलाई हिम्मत छ भने श्रीमतीलाई राजीनामा दिन लगाउनुस्।”
उल्लेखनीय सहभागीता:
कार्यक्रममा एमालेका प्रदेश कमिटी सदस्य गौरीशंकर साह, फतुवा बिजयपुर नगर इन्चार्ज सेख कलिमुल्लाह, मधेश प्रदेशका पूर्व मन्त्री नागेन्द्र यादव, देवाही गोनाहीका मेयर प्रेमलाल साह कानु, मौलापुरका उपमेयर नागेन्द्र यादव, नेता मनोज यादव राजन, एमाले क्षेत्रीय अध्यक्ष युवराज ज्ञवाली, पूर्व उपमेयर कान्ति देवी महतो, र नेता रामजी साहलगायतले सम्बोधन गरेका थिए।
वक्ताहरूले एमालेको नेतृत्वमा बन्ने सरकारले मात्र सुखी नेपाली, समृद्ध नेपाल को परिकल्पना साकार गर्नसक्ने विचार राखेका थिए।
साथै स्थानीय तहहरूमा विकासमा बेथिति भएको आरोप लगाउँदै, एमालेले मात्र देशलाई समृद्ध र सुशासनयुक्त बनाउन सक्ने दाबी पनि गरिएको थियो।
कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष राम एकवाल राय यादवले गरेका थिए भने स्वागत मन्तव्य पेटभर्वा निवासी मनोज कुमार यादवले गरेका थिए।
कार्यक्रममा गाउँका भद्रभलादमी, युवा, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।









