मेवालाल यादव
रौतहट । अविरल वर्षा र बाढीका कारण प्रभावित रौतहटका विभिन्न बस्तीहरूको जनमत पार्टीका प्रदेश सभा सदस्यका प्रत्याशी मोहम्मद आलम उर्फ बाबू साहेबले स्थलगत निरीक्षण गरेका छन्।
बाबू साहेबले विशेष रूपमा दमार, बलुवा, बनजरहवा, औरैया, डुमरिया, राजपुर, अकोलवा लगायतका बाढीपीडित गाउँहरूमा पुगेर स्थानीयवासीहरूको अवस्था बुझेका हुन्। ती सबै क्षेत्र अहिले पूर्ण रूपमा डुबानमा परेका छन्, जसले किसानका बाली, घर, नाली र बस्तीहरूमा व्यापक क्षति पुर्याएको छ।

उनका अनुसार, हालको बाढी र पहिरोले जनजीवन अस्तव्यस्त भएको छ भने लालबकैया खोलाको बाँध भत्किँदा बाढीको पानी तीव्र गतिमा बस्तीहरूमा पसेर ठूलो क्षति पुर्याएको छ।
स्थानीयहरूसँगको भेटमा बाबू साहेबले भने,
“यो अत्यन्तै दुःखद र पीडादायक अवस्था हो। यस कठिन घडीमा म सम्पूर्ण प्रभावित परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछु।”
उनीले सरकारसँग तत्काल राहत वितरणको व्यवस्था मिलाउन र भत्किएका बाँधहरूको मर्मत–सम्भारका लागि शीघ्र पहल गर्न माग गरेका छन्।

बाबू साहेबका अनुसार जनमत पार्टीले स्थानीय तहमा राहत र सहयोगका प्रयास अघि बढाइसकेको छ र पार्टीका कार्यकर्ताहरूलाई बाढीपीडित नागरिकको सहयोगमा जुट्न निर्देशन दिइएको छ।
स्थानीय बासिन्दाहरूले जनप्रतिनिधिहरूले स्थलगत रूपमा आएको देख्दा केही राहतको आशा पाएको बताएका छन्।









