२०८२ फाल्गुन १९ गते मंगलवार

टिकटक बनाउन खोलामा हामफालेका युवक बेपत्ता

बाराको प्रसौनी गाउँपालिका–२ स्थित दुधौरा पुलमा आइतबार बिहान टिकटक भिडियो बनाउने क्रममा एक युवक खोलामा बेपत्ता भएका छन्।

 

इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार बिहान करिब ८ः३० बजे पुलबाट खोलामा हाम फाल्दा प्रसौनी गाउँपालिका–२ बस्ने शम्भु गोस्वामीका छोरा २१ वर्षीय बिकी गोस्वामी बेपत्ता भएका हुन्।

 

उनीसँगै हाम फालेका शंकर केसरवानीका छोरा २० वर्षीय अनुराग केसरवानी भने पौडी खेलेर आफैँ बाहिर निस्किन सफल भएका छन्। प्रहरीका अनुसार दुवै जना बिहान पुलमा आएर मनोरञ्जन स्वरूप टिकटक भिडियो बनाउन खोज्दै खोलामा हाम फालेका थिए। तर खोलामा पानीको बहाव तीव्र भएको कारण दुर्घटना भएको अनुमान गरिएको छ।

 

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय प्रसौनी र सशस्त्र प्रहरी बल नेपाल नं १२ हेडक्वार्टर बाराको संयुक्त टोली तत्काल घटनास्थल पुगेको हो। सशस्त्र प्रहरी विपद् व्यवस्थापन गण निजगढका प्रहरी नायब उपरीक्षक सन्दीप अर्यालको टोलीले खोलाको करिब १ किलोमिटर क्षेत्रभित्र खोज तथा उद्धार कार्य प्रारम्भ गरेको जनाएको छ। खोलाको पानी बढेकाले र बाढीको प्रवाह तीव्र रहेकाले गोताखोरको सहयोगमा खोज कार्यलाई थप सघन बनाइएको सशस्त्र प्रहरी विपद् व्यवस्थापन गण निजगढका प्रहरी नायब उपरीक्षक अर्यालले बताए।

 

सशस्त्र प्रहरी विपद् व्यवस्थापन गण निजगढका प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त प्रयासमा खोलाको आसपासका क्षेत्रमा निरन्तर खोजी भइरहेको छ। तर अहिलेसम्म बेपत्ता बिकी गोस्वामीको कुनै अत्तोपत्तो नलागेको उनले जानकारी दिए।

 

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी बिजयराज पण्डितले भने, ‘वर्षाको कारण खोलामा पानीको बहाव अत्यधिक बढेकाले उद्धार टोलीलाई कठिनाइ भइरहेको छ। तर खोज तथा उद्धार कार्य कुनै पनि अवस्था रोकिएको छैन, निरन्तर जारी छ।’

 

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको र स्थानीय तहसँग समन्वय गरी खोज कार्यलाई अझ प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM