२०८२ फाल्गुन २० गते बुधबार

रौतहट–३ कटहरियामा कांग्रेस र एमालेको संयुक्त क्षेत्रीय समीक्षा बैठक

अशोक यादब

रौतहट। रौतहट क्षेत्र नं. ३ को कटहरिया बजारमा शनिबार नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त रूपमा क्षेत्रीय समीक्षा बैठक सम्पन्न गरेको छ। बैठकमा सहभागी नेताहरूले जेनेरेसन जेड (Gen Z) आन्दोलनमा सहिद भएका युवाहरूको सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् र देशको वर्तमान राजनीतिक संकट तथा असफलतामा छलफल गरेका छन्।

वक्ताहरूले आन्दोलनका क्रममा भएको आपराधिक गतिविधिहरू—घरमा आगजनी, नगरपालिकामा तोडफोड, कैदी भगाउने, प्रहरीमाथि आक्रमण लगायत—को छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई आग्रह गरेका छन्। साथै, भ्रष्टाचार, परिवारवाद, भागबण्डा र नेताहरूको स्वार्थपरायणताले देशलाई उथलपुथलमा धकेलेको उल्लेख गरे।

बैठकमा प्रधानमन्त्री शुसिला कार्कीलाई जेनेरेसन जेडको चाहनाअनुसार बनेको सरकारको प्रमुख प्रतिनिधि भन्दै उनका नेतृत्वमा सबै दलले सहयोग गर्नुपर्ने र जेनेरेसन जेडले उठाएका सही मागहरूप्रति ऐक्यबद्धता देखाउनुपर्ने निष्कर्ष निकालिएको छ।

बैठकको अध्यक्षता एमाले केन्द्रीय सदस्य कुन्दन कुशवाहाले गरेका थिए। कार्यक्रममा कांग्रेस वरिष्ठ नेता हृदय नारायण यादव, वृन्दावनका पूर्व मेयर रामासिनेही यादव, कांग्रेस महाधिवेशन प्रतिनिधि ज्ञानेन्द्र यादव, शिक्षक महासंघ जिल्ला अध्यक्ष रामकृपाल यादव, एमाले क्षेत्रीय संयोजक युवराज ज्ञवाली, एमाले जिल्ला उपाध्यक्ष रुपेश पटेल, कांग्रेस क्षेत्रीय सभापति सर्फलाल गुप्ता, प्रदेश सांसद प्रत्याशी राम नारायण यादव लगायत दुवै दलका दर्जनौं नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM