सिरहा । प्रदेश टाइम्स राष्ट्रिय दैनिकका सम्पादक राम पुकार यादवलाई ज्यान मार्ने धम्की दिएको आरोपमा तीन जना पक्राउ परेका छन्।
सिरहा जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका मध्ये सिरहा नगरपालिका–१७ का लाल बिहारी यादव, बिष्णुपुर गाउँपालिका–५ का सन्तोष यादव र सोही स्थानका पवन यादव रहेका छन्।

बिष्णुपुर गाउँपालिका स्थित कार्यालयमार्फत दशकौँदेखि सञ्चालन हुँदै आएको पत्रिकाका सम्पादक यादवलाई केही दिनअघि अज्ञात समूहले धम्की र दुर्व्यवहार गरेपछि जिल्ला प्रहरी सिरहाले विशेष अनुसन्धान सुरु गरेको थियो।
प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ। प्रारम्भिक अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने समेत प्रहरीले जनाएको छ।
यो घटनाले पत्रकार सुरक्षामाथि गम्भीर प्रश्न उठाएको भन्दै सञ्चारकर्मी तथा विभिन्न संघ–संस्थाले तत्कालै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उनीहरूका अनुसार पत्रकारले निर्भय भएर आफ्नो दायित्व निर्वाह गर्न सक्ने वातावरण बनाउन राज्य गम्भीर बन्नुपर्ने आवश्यकता देखिएको छ।









