शैलेश गुप्ता
पोखरिया । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभर २३ वटा नयाँ इलाका प्रशासन कार्यालय थप्ने तयारी गरेको छ। मन्त्रालयका अनुसार आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ र अब निर्णय हुने मात्र बाँकी छ।

पोखरिया नगरपालिकाका नगरप्रमुख प्रदुमन प्रसाद चौहानको अथक प्रयासका कारण पोखरिया नगरपालिका पनि इलाका प्रशासन कार्यालय स्थापना हुने सूचीमा परेको छ। नगरप्रमुख चुनाव लड्ने बेला जनतासँग गरेका प्रतिबद्धतामध्ये केही समयअघि नापी शाखा कार्यालय र मालपोत शाखा कार्यालय स्थापना गराइसकेका चौहानले हालै फेरि अर्को महत्वपूर्ण प्रतिबद्धता पूरा गर्न लागेको देखिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभर थप्न लागेको २३ वटा इलाका प्रशासन कार्यालयको सूचीमा पोखरिया नगरपालिकाको नाम पनि समावेश छ।
नयाँ थपिन लागेका इलाका प्रशासन कार्यालयहरू मध्ये मधेश प्रदेशमा सिराहाको सुखिपुर, धनुषाको धनुषाधाम, सर्लाहीको वलरा र पर्साको पोखरिया रहेका छन्। यसैगरी बागमती प्रदेशमा सिन्धुलीको दुधौली र काठमाडौंको टोखा पर्छन्।
यस्तै, कोशी प्रदेशमा ताप्लेजुङको सिरिजंगा, खोटाङको हलेसी, ओखलढुंगाको घोराखोरी र संखुवासभाको हेदङ्गवा रहेका छन्। गण्डकी प्रदेशतर्फ तनहुँको भिमाद, अर्घाखाँचीको सितगंगा र चितवनको खैरहनी समावेश छन्।
कर्णाली प्रदेशमा डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट र बाजुराको कोल्टी रहेका छन् भने सुदूरपश्चिम प्रदेशमा बझाङको देउरा, अछामको साफेबगर, डोटीको विपिनगर, दार्चुलाको गोकुलेश्वर र बैतडीको मेलौली पर्छन्।
यससँगै रुपन्देहीको गैडहवामा पनि इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ।
मन्त्रालयका अनुसार कार्यालय स्थापना भएपछि स्थानीय प्रशासनिक सेवा सहज हुने, नागरिकलाई आवश्यक सेवामा छिटो पहुँच पुग्ने र केन्द्रदेखि टाढा रहेका जनताले पनि नजिकैबाट सेवा पाउने सुविधा हुने विश्वास गरिएको छ।









