अशोक यादव
भदौ ३, रौतहट – फतुवा विजयपुर नगरपालिकामा अनियमितता र भ्रष्टाचार सम्बन्धी समाचार लेख्ने पत्रकारमाथि दुर्व्यवहार भएको प्रकरणमा उपमेयर (कावा मेयर) अम्बेया खातुनका छोरा मोहम्मद सनाउल्लाहविरुद्ध जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको छ।

इलाका प्रहरी कार्यालय विजयपुरको अनुरोधमा सोमबार अदालतले सनाउल्लाहलाई पक्राउ गर्न आदेश दिएको इन्स्पेक्टर सुरेन्द्र यादवले जानकारी दिएका छन्।
घटनाको विवरण अनुसार, पत्रकार कृष्ण तिवारी साउन ३० गते नगरसभा कार्यक्रममा सहभागी हुन सन्तपुर चौक नजिक जाँदै गर्दा सनाउल्लाहले उनलाई रोकेर दुर्व्यवहार गरेका थिए। पीडित तिवारीको जाहेरीका आधारमा रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीको निर्देशनमा इलाका प्रहरी कार्यालय विजयपुरले अनुसन्धान गरी आइतबार सनाउल्लाहमाथि केही अभद्र मुद्दा दर्ता गरेको थियो।
इन्स्पेक्टर यादवले पत्रकारमाथि गरिएको घटनासम्बन्धी खोजतलास र पक्राउ कार्यका लागि छुट्टै प्रहरी टोली परिचालन गरिएको जानकारी दिएका छन्।
प्रेस चौतारी नेपाल, रौतहट शाखाले घटनाप्रति घोर आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ। चौतारीले पत्रकारमाथि आक्रमण गर्ने प्रयासलाई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गरिएको प्रहार भनेको छ। सचिव मुकेश कुमार साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “पत्रकारलाई धम्की र आक्रमण गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही नगर्ने हो भने यस्ता घटना दोहोरिन सक्छन्।”

महालेखा परीक्षकको प्रतिवेदनले नगरपालिकामा इन्धन र यातायात खर्चमा अनियमितता भएको प्रस्ट्याएको थियो। सो प्रतिवेदनका आधारमा पत्रकार तिवारीले समाचार लेख्दा सनाउल्लाहले दुर्व्यवहार गरेको चौतारीले आरोप लगाएको छ।
नेपालमा पछिल्ला वर्षहरूमा स्थानीय तहमा भएको भ्रष्टाचार र अनियमितता उजागर गर्ने पत्रकारहरू धम्की, दबाब र आक्रमणमा पर्ने घटना बढ्दै गएको देखिन्छ। विज्ञप्तिमा भनिएको छ, “पत्रकारिता चौथो अंग मात्र नभई लोकतन्त्रको मेरुदण्ड हो भन्ने तथ्यलाई बेवास्ता गर्दै समाचार लेख्ने कर्मीमाथि आक्रमण हुनु लोकतन्त्रकै लागि गम्भीर चुनौती हो।”

२०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गोपाल प्रसाद यादव मेयर र अम्बेया खातुन उपमेयर निर्वाचित भएका थिए।









