२०८२ फाल्गुन १९ गते मंगलवार

बाराका पाँच पालिकामा खानेपानी संकट समाधानका लागि मन्त्री यादवको निर्देशन ।

शैलेश गुप्ता

पर्सा । विरगन्ज बाराको पाँच पालिकामा लामो समयदेखि चलिरहेको खानेपानीको चरम संकट समाधान गर्न संघीय खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा डीप बोरिङ जडान कार्य सुरु गरिएको छ।

भू–सतहको पानी सुक्दा चापाकलहरू काम नलागेपछि पचरौता नगरपालिका, फेटा गाउँपालिका, बिश्रामपुर गाउँपालिका, प्रसौनी गाउँपालिका र परवानीपुर गाउँपालिकाका स्थानीयवासी पानी अभावमा परेका थिए। यसलाई ध्यानमा राखी मन्त्री यादवले तत्काल डीप बोरिङ जडान गर्न निर्देशन दिएका हुन्।

Advertisement

स्वकीय सचिव हरिन्द्र साहका अनुसार, नयाँ जडान भएका डीप बोरिङहरूको उद्घाटन हिन्दू परम्परा अनुसार पूजापाठ गर्दै सम्पन्न गरिएको छ। साथै, पानी वितरणका लागि पाइपलाइन विस्तारको कार्य पनि सुरु भएको छ। प्रत्येक बोरिङबाट कम्तीमा ५० परिवारलाई स्वच्छ खानेपानी उपलब्ध हुने अपेक्षा गरिएको छ।

डीप बोरिङसँगै दुई हजार लिटर क्षमताको खानेपानी ट्याङ्की स्थापना गर्ने योजना पनि छ, जसले भण्डारण र वितरणमा सहजता ल्याउनेछ।

यो पहलले बाराका पाँच पालिकाका बासिन्दामा उत्साह थपेको छ। स्थानीयवासीहरूले नियमित पानी आपूर्ति हुने भएपछि दैनिक जीवन सहज हुने विश्वास व्यक्त गर्दै मन्त्री यादवलाई धन्यवाद दिएका छन्। उनीहरूले यस्तो जनमुखी कार्यलाई निरन्तरता दिन आग्रह गरेका छन्।

Advertisement

सचिव साहका अनुसार, मन्त्री यादवको कार्यकालमा हालसम्म ती पाँच पालिकाका विभिन्न वडामा ५० भन्दा बढी डीप बोरिङ जडान भइसकेका छन्। अन्य पालिकामा पनि पानीको समस्या देखिए खानेपानी मन्त्रालय तत्पर रहने उनले बताएका छन्।

“जनताको आधारभूत आवश्यकता पूरा गर्नु मन्त्रीज्यूको प्राथमिकता हो। खानेपानीको समस्या समाधानका लागि उहाँ निरन्तर प्रयासरत रहनुभएको छ,” साहले बताए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM