२०८२ फाल्गुन १९ गते मंगलवार

रौतहटमा सरकारले बनाएका घर एक महिनामै भत्किन थाले, स्थानीय आक्रोशित

अशोक यादव 
रौतहट । रौतहटको माधव नारायण नगरपालिकामा मधेस प्रदेश सरकारले मदन भण्डारी आवास योजना अन्तर्गत निर्माण गराएका घरहरू एक महिनामै भत्किन थालेपछि स्थानीयवासी चिन्तित र आक्रोशित भएका छन्।

असार महिनाको अन्तिमतिर बजेट सक्ने हतारमा निर्माण गरिएको यी आवासीय भवनहरू सामान्य वर्षातमै भत्किन थालेका हुन्। माधव नारायण नगरपालिका-१, गढोस्थित निर्माण स्थलमा केही घरहरू अझै अपूरा रहेका छन् भने निर्माणकै क्रममा भत्किन सुरु भइसकेका छन्।

सरकारी मापदण्डअनुसार उपभोक्ता समितिमार्फत घर निर्माण गरिनु पर्ने भए पनि कागजमा मात्र समिति देखाइ वास्तविक काम ठेकेदारमार्फत गराइएको स्थानीयको आरोप छ।पूर्वाधार विकास कार्यालय रौतहटका इन्जिनियर रामबाबु प्रसादमाथि निर्माण कार्यको सम्पूर्ण व्यवस्थापन आफैँले लिएर गुणस्तरहीन सामग्री प्रयोग गरेको, कार्यविधि उल्लंघन गरेको, र कमिसनको भरमा रकम निकासा गरेको गम्भीर आरोप लागेको छ।

मदन भण्डारी आवास योजनाअन्तर्गत बनेका कमजोर संरचनाका कारण ती भवनमा बस्न बाध्य नागरिकहरूको ज्यान जोखिममा रहेको भन्दै माधव नारायण नगरपालिकाका एक पूर्व वडाध्यक्षले चिन्ता व्यक्त गरेका छन्। गढोमा बनेका घरको सम्पूर्ण निर्माण प्रक्रिया छानबिन गरिनुपर्ने र यसमा संलग्न दोषीलाई कडा सजाय दिनुपर्ने माग स्थानीयवासीहरूले गरेका छन्। यति ठूलो सरकारी योजनामा देखिएको लापरवाहीले प्रदेश सरकारको नियतमै प्रश्न उठाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM