२०८२ फाल्गुन १९ गते मंगलवार

नापी कार्यालय पोखरियामा राजस्व अपचलन, दुईवटा रसिद प्रयोग गरी रकम हिनामिना

शैलेश गुप्ता

पोखरिया । पर्सा जिल्लाको पोखरिया नगरपालिका–९ मा अवस्थित भूमि व्यवस्था, सहरी विकास तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको नापी विभागको नापी कार्यालय पोखरिया मा राजस्व अपचलन भएको खुलेको छ।

श्रोतका अनुसार, सो कार्यालयमा दैनिक रूपमा दुई प्रकारका रसिद काटिने गरिएको छ — एक नकली रसिद, जुन कार्यालयमै प्रयोग हुन्छ, र अर्को सकली रसिद, जुन भित्रैको कोठाबाट राति काटिन्छ।

उमेश साहको दबाबमा कर्मचारी कार्यरत

नापी कार्यालय पोखरियाका कार्यालय प्रमुख बब्लु पाण्डेयका विश्वासपात्र तथा सर्वेक्षक उमेश साहले कार्यालय सहयोगीहरूलाई दबाब दिएर नकली रसिद काट्न लगाउने गरेका छन्।

श्रोतले दिएको जानकारीअनुसार, आर्थिक वर्ष 2081/082 मा लाखौं रुपैयाँ बराबरको सरकारी राजस्व हिनामिना गरिएको छ।

५० हजार बराबरको नकली रसिद, मात्र ५–७ हजार मात्र खातामा

दिनभर करिब ५० हजार रुपैयाँ बराबरको नकली रसिद काटिएपछि, राति उमेश साहकै निर्देशनमा कर्मचारीहरूले सिर्फ ५–७ हजार रुपैयाँ बराबरको मात्र सकली रसिद काट्ने र भोलिपल्ट मात्र त्यो रकम सरकारी खातामा जम्मा गरिने गरिएको पाइएको छ।

हालसम्म यस्ता धेरै रसिद प्रमाणका रूपमा सुरक्षित राखिएको स्रोतको दाबी छ।

अनुसन्धानको माग

स्थानीय बासिन्दा तथा सेवाग्राहीहरूले नापी कार्यालयमा भइरहेको गम्भीर आर्थिक अनियमिततामा तत्काल छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM