२०८२ फाल्गुन १९ गते मंगलवार

वर्षाका लागि कटहरियामा मुस्लिम समुदायको सामूहिक नमाज”

अशोक यादव 

रौतहट । आज रौतहटको कटहरिया नगरपालिकामा मुस्लिम समुदायले लामो खडेरीपछि वर्षाकाे कामनामा सामूहिक रूपमा नमाज अदा गरेका छन्। कटहरिया क्रिकेट ग्राउन्डमा आयोजित यो विशेष धार्मिक कार्यक्रम केवल धार्मिक कर्मकाण्डमा सीमित थिएन, यो वातावरणीय संकटप्रति जनचेतना र सामूहिक आस्थाको प्रतीक पनि बन्यो।

नेकपा माओवादी केन्द्रका कटहरिया नगर अध्यक्ष तथा मेयर प्रत्यासी नसरूदिन अन्सारीको नेतृत्वमा सम्पन्न कार्यक्रममा मौलाना शेराजुल हकले नमाज अदा गराएका थिए।

नबी मोहम्मदले देखाएको मार्ग अनुसरण गर्दै आयोजित “ईस्तिस्का नमाज” (वर्षा माग्ने विशेष प्रार्थना) ले कृषि–प्रधान मधेसको वर्तमान पीडा, समाजको एकता, र धार्मिक आस्थाको गहिरो रूप झल्कायो।

सन्तपुर, पिप्रा पोखरिया, विजयपुर, बगही लगायतका गाउँबाट आएका सयौं सहभागीहरूको अनुहारमा वर्षाको आशा, हरियालीको सपना, र प्रकृतिसँग पुनः सम्बन्ध गाँसिने विश्वास झल्किरहेको थियो।

धर्म, प्रकृति र समुदाय — आजको कटहरियामा यी तीन तत्वको अद्वितीय समागम देखियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM