करण कुमार मिश्र
रौतहट । रौतहटको गरुडा नगरपालिकाले ५० प्रतिशत अनुदानमा नगरका किसानलाई कृषि उपकरण वितरण गरेको छ । पालिकाले कृषिलाई आधुनिकीकरण गरी किसानको आर्थिक अवस्थामा सुधार गर्नका लागि किसानलाई भैंसी बाख्रा दुध चिस्यान भ्याट दुध संकलन क्यान, पम्पी सेट र सिँचाइ मोटर वितरण गरेको हो । 
नगरपालिकाले शुक्रबार एक कार्यक्रम आयोजना गरी पालिकाभित्रका अगुवा कृषक तथा समूहलाई सो कृषि र पशु उपकरण ५० प्रतिशत नगरपालिकाको अनुदान र ५० प्रतिशत लाभग्राहीको लगानीमा वितरण गरिएको छ ।
त्यसैगरी, सिँचाइका लागि प्रयोग हुने मोटरमा पनि नगरपालिकाको ५० प्रतिशत अनुदान छ भने कृषकले ५० प्रतिशत मात्र लगानी गर्नुपर्नेछ।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जसवालको पहलमा आर्थिक वर्ष २०८१–०८२ को बजेट अन्तर्गत सञ्चालन गरिएको कृषि, पशु, डेरी यान्त्रीकरण तथा भैँसी वितरण कार्यक्रममा शुक्रबार गरुडा स्थित रामजानकी मठको बगैंचामा किसानहरुलाई सो उपकरण हस्तान्तरण गरिएको हो ।
सो अवसरमा बोल्दै नगर प्रमुख जयसवालले कृषि क्षेत्रलाई पालिकाले उच्च प्राथमिकतामा राखेको बताए। रौतहटको १८ स्थानीय तह मध्ये गरुडा नगरपालिकाले किसानको हकमा यो महत्त्वपूर्ण कार्यक्रम ल्याई ५० प्रतिशत अनुदान आवश्यक पशु र कृषि उपकरण वितरण गरिएको बताए ।
‘कृषिमा आधुनिकीकरणलाई प्रोत्साहन गर्न गरुडा नगरपालिकाले यसवर्षदेखि सरकारको नियमानुसार ५० प्रतिशत अनुदानमा कृषि यन्त्रहरू वितरण गर्ने कार्यको थाल्नी गरेको बताए । यसले कृषकहरूलाई सहजता थप्ने, लागत घटाउने र आत्मनिर्भर बनाउँदै उत्पादकत्व बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले कृषकहरूलाई प्राप्त उपकरणको सही सदुपयोग गर्दै उत्पादन वृद्धिमा लाग्न आग्रह गरे।

कार्यक्रममा कृषकहरूलाई ५० प्रतिशत अनुदानमा जम्मा १४० वटा भैँसी, ५७ वटा विद्युत मोटर, ५४ वटा पम्पसेट, २० जनालाई मिल्क्यान, १ हजार र २ हजार लिटर क्षमताका चिलिङ भ्याट, ८०० लिटरका डिफ्रिज, दुईवटा मिल्क पम्प, तीनवटा मिल सेपरेटर लगायतका सामग्री वितरण गर्ने योजना रहेको छ। बाँकी सामग्रीहरू क्रमशः सम्बन्धित वडामा पुग्ने गरी वितरण गरिनेछ ।









