सिरहा । समाजवादी प्रेस संगठन नेपालले संगठनका मधेश प्रदेश समितिका कोषाध्यक्ष तथा प्रदेश टाइम्स राष्ट्रिय दैनिकका सम्पादक रामपुकार यादवमाथि दुर्व्यवहार गर्ने र ज्यान लिने धम्की दिनेहरूलाई कडा कारबाही गर्न माग गरेको छ।
संगठनका महासचिव रोहित दाहालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै दोषीहरूलाई तुरुन्त कानुनी कारबाही गर्न आग्रह गरेका हुन्।
मधेस प्रदेश समितिका अनुसार, सिरहास्थित विष्णुपुर गाउँपालिकाबाट वितरण हुनुपर्ने चेकहरू अन्य स्थानबाट वितरण गरिएको विषयमा समाचार लेखेकै कारण २०८२ साल साउन १ गते राति करिब ९ बजे सन्तोष यादव, पवन यादव, र निर्माण व्यवसायी लालबिहारी यादवले पत्रकार यादवलाई फोनमार्फत गालीगलौज गर्दै ज्यान लिने धम्की दिएका थिए।
विज्ञप्तिमा भनिएको छ—
“समाचारप्रति असहमति भए कानुनी बाटो रोज्न सकिन्छ। तर धम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप हो। यस्ता घटना दोहोरिन नदिन दोषीलाई तत्काल कडा कानुनी कारबाही गर्न माग गर्दछौँ।”
संगठनले पत्रकार यादवको सुरक्षाको ग्यारेन्टी गर्न पनि प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको छ।
त्यस्तै, यदि दोषीहरूलाई कारबाही नभए आन्दोलनका सशक्त कार्यक्रम ल्याउन बाध्य हुने चेतावनीसमेत दिएको छ।









