२०८२ फाल्गुन १९ गते मंगलवार

मकवानपुरमा विश्वकर्मा लोहार सेवा समितिको जिल्ला समिति गठन

मकवानपुर । लोहार समुदायको हकहित र अधिकार सुनिश्चितताका लागि ‘विश्वकर्मा लोहार सेवा समिति’ को मकवानपुर जिल्ला समिति आज एक कार्यक्रमबीच गठन भएको छ। रामपुकार ठाकुरको अध्यक्षतामा गठित यो समिति मकवानपुर जिल्लामा लोहार समुदायको पहिलो संगठित प्रयास हो।
समिति गठन कार्यक्रम विश्वकर्मा लोहार सेवा समितिका वरिष्ठ उपाध्यक्ष आशिर्वाद ठाकुरको प्रमुख आतिथ्य र नेपाल विश्वकर्मा संघका अध्यक्ष विवेक शर्माको विशिष्ट आतिथ्यमा सम्पन्न भयो। कार्यक्रमको उद्घोषण नेपाल विश्वकर्मा संघका सचिव रामलाल ठाकुरले गरेका थिए।
कार्यक्रममा बोल्दै नेपाल विश्वकर्मा संघका अध्यक्ष विवेक शर्माले राज्यबाट प्राप्त हुने सेवा-सुविधाहरू सुनिश्चित गर्न र देशमा लोहार जातिको पहिचान स्थापित गर्न जातीय एकता अपरिहार्य रहेकोमा जोड दिए। उनले राज्यले लोहार जातिमाथि गर्दै आएको विभेदको प्रतिकार गर्न सबै लोहारहरूलाई एक हुन आह्वान गरे। शर्माले आफ्ना छोराछोरीलाई राज्यको हरेक तह र तप्कामा पुर्‍याउन तथा पहिचान स्थापित गर्नका लागि राम्रो शिक्षा दिन र हरेक घरबाट विकासको सुरुवात गर्न पनि आग्रह गरे। साथै, उनले मकवानपुरमा बसोबास गर्ने तथा कामकाज गर्ने लोहारहरूलाई नवगठित समितिमा जोडिन आग्रह गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा विश्वकर्मा लोहार सेवा समितिका वरिष्ठ उपाध्यक्ष आशीर्वाद ठाकुरले देश संघीय शासन प्रणालीमा गइसकेकाले संघीय समावेशीको सिद्धान्तअनुसार लोहार जातिलाई पनि राज्यको हरेक तह र तप्कामा राख्नुपर्ने राज्यको दायित्व भएको बताए। लोहार जाति एक शिल्पकलाकार र समाज निर्माणका अगुवा भएकाले यस जातिलाई राज्यले विशेष सेवा-सुविधा दिनुपर्नेमा उनले जोड दिए।
मकवानपुर जिल्लाको हेटौँडामा बसोबास गर्ने तथा कामकाज गर्ने लोहार समुदायका व्यक्तिहरूले यो समितिलाई आफ्नो समुदायका लागि एउटा “पिलर” को रूपमा साबित हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM