शैलेश गुप्ता
पोखरिया । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ मा अवस्थित श्री श्री १००८ दुधेश्वरनाथ महादेव मन्दिर, भाथा धाममा प्रत्येक वर्ष लाग्ने श्रावणी मेलालाई लक्षित गर्दै आज एक पत्रकार समिति गठन गरिएको छ।

उक्त समिति शम्भु महतो चौधरीको संयोजकत्वमा गठन गरिएको हो। समितिको मुख्य उद्देश्य मेलाको प्रचारप्रसारलाई जिल्ला स्तरमा मात्र नभई देश तथा विदेशमा समेत विस्तार गर्ने रहेको छ।
कार्यक्रममा संयोजक चौधरीले विगतका वर्षहरूमा भारतसहित विभिन्न देशबाट आएका श्रद्धालुहरूलाई सहजता प्रदान गर्न केही समस्या आएको जनाउँदै, यस वर्षदेखि प्रारम्भमै सक्रिय भएर व्यवस्थापनमा जुट्ने प्रतिबद्धता व्यक्त गरे।
श्रद्धालुहरूको सुविधाका लागि बाटो व्यवस्थापन, सूचना प्रवाह, सुरक्षा तथा अन्य सेवाका सन्दर्भमा मुख्य मेला समिति तथा जिल्ला प्रशासनसँग समन्वय गरी कार्य अगाडि बढाइने समितिले जानकारी दिएको छ।

समितिमा राजेन्द्र सिंह राजपुत, शैलेश गुप्ता, कृष्णा कुशवाहा, पनालाल साह, राजन सिंह, बलिराम यादव लगायतको सहभागिता रहेको छ।
समितिले मेलाको प्रचारप्रसार तीव्र रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ भने असार २९ गते आइतबार भाथा धामको संयुक्त अवलोकन भ्रमण गर्ने सर्वसम्मत निर्णय गरिएको छ।









