२०८२ फाल्गुन १९ गते मंगलवार

मिसन ८४ का लागि चम्किदैँ पर्सा–३ मा रुपेश पाण्डेय

पोखरिया । पर्सा–३ को राजनीतिमा एक नयाँ नेताको उदयले व्यापक चर्चा पाउन थालेको छ। युवा व्यवसायी रुपेश कुमार पाण्डेयको ‘मिसन ८४ अभियान’ले नयाँ पुस्तालाई राजनीतिक चेतना बाँडिरहेको छ। उनी पुराना नेताहरूको प्रतिस्पर्धामा युवा पुस्ताको आवाज बनेर उभिएका छन्। रुपेशको बढ्दो लोकप्रियताका कारण केही पुराना नेताहरूले आफ्नो चुनावी क्षेत्र नै परिवर्तन गर्ने प्रयास थालेका छन्।

पाण्डेय केवल भाषण र प्रचारमा सीमित नरही, गाउँ, टोल, बजार र गल्लीसम्म पुगेर विकासका खाका कोर्न थालेका छन्। आधा–आधा महिना जनताको बीचमै बस्ने उनी, जनताको दुःख–सुखका सहयात्री बन्दै आएका छन्। यसरी उनी स्थानीय समस्याको पहिचान गर्दै, युवाहरू, किसानहरू, महिला र वृद्धहरूसँग नियमित छलफल गर्दै आएका छन्। उनको विश्वास छ—“अबको आवश्यकता नारावादी राजनीति होइन, योजनाबद्ध र परिणाममुखी नेतृत्व हो।”

पर्सा–३ को समग्र विकासका लागि रणनीतिक योजना तयार गर्दै उनी सक्रिय छन्। पोखरिया, पकाहा, महुवन, चीपुरजस्ता क्षेत्रहरूलाई व्यवस्थित र आधुनिक बनाउने स्पष्ट योजना उनले अघि सारेका छन्। भाडा भगवानजस्ता धार्मिक स्थलको संरक्षण र प्रवर्द्धन, कृषिमा प्रविधिको प्रयोगद्वारा उत्पादन वृद्धि, शिक्षा तथा स्वास्थ्य सेवा पहुँचयोग्य बनाउनु उनको प्रमुख प्राथमिकता हो।

रुपेश पाण्डेयको समाजसेवामा निरन्तरता नै उनको लोकप्रियताको आधार बनेको छ। मानिकपुर निवासी उनी विगत केही वर्षदेखि सामाजिक कार्यमा सक्रिय छन्। समस्यालाई व्यावहारिक दृष्टिकोणले समाधान गर्ने शैलीले जनताको विश्वास जितेका छन्। उनी भन्छन्—“प्रतिनिधित्व अब पार्टीको अनुहारबाट होइन, काम गर्ने क्षमताबाट मूल्यांकन हुनुपर्छ।”

उनको समर्थन किशोरदेखि वृद्धसम्म फैलिएको छ। युवालाई रोजगारीका अवसर दिने योजनाले उनीहरूलाई आकर्षित गरेको छ भने वृद्धहरूले उनको सरल व्यवहार र सम्मानको भावना मन पराएका छन्। महिलालाई आत्मनिर्भर बनाउने प्रतिबद्धताले पनि उनको समर्थन बलियो बनाएको छ।

मानिकपुरका एक किसान भन्छन्—“उहाँले हाम्रो गाउँको विकासका लागि ल्याउनुभएको योजना साँच्चिकै आशा जगाउने खालको छ। उहाँ जनताको समस्या बुझ्न र सुन्न तत्पर हुनुहुन्छ, त्यसैले हामी उहाँको नेतृत्वमा विश्वास गर्न सक्छौं।”

हाल पर्सा जिल्लाबाट चार जना सांसद, आठ जना प्रदेशसभा सदस्य र पाँच जना मन्त्री भइसकेका छन्, तर अपेक्षित विकास हुन नसकेकोमा पाण्डेयले चिन्ता व्यक्त गरेका छन्। उनी भन्छन्—“राजनीतिक प्रतिनिधित्व उच्च छ, तर विकासमा गति आउन नसक्नु दुःखद कुरा हो।” पर्साको व्यापारिक, सामाजिक र भौगोलिक सम्भावनालाई व्यवहारमा उतार्न योजनाबद्ध नेतृत्व आवश्यक रहेको उनको धारणा छ।

रुपेश पाण्डेय आफूलाई केवल सत्ता प्राप्तिका लागि होइन, सेवा र विकासका लागि समर्पित नेताका रूपमा प्रस्तुत गर्छन्। उनका समर्थकहरू भन्छन्—“पाण्डेय अबको पुस्ताका नेता हुन्, जसले देखाउने होइन, गरेर देखाउने समय ल्याएका छन्।”

यदि जनताले उनलाई विश्वास गरेर अवसर दिए, पर्सा–३ मा युवापुस्ताको ऊर्जा र व्यावहारिक नेतृत्वमार्फत विकासको नयाँ युगको शुभारम्भ हुनेछ भन्ने विश्वास त्यहाँका नागरिकहरू गर्न थालेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM