२०८२ फाल्गुन १९ गते मंगलवार

संघीय निजामती ऐन विरुद्ध गरुडामा आम जनता पार्टीको प्रदर्शन, विधेयक जलाइयो

अशोक यादव, असार १६,

रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टीले संघीय निजामती ऐनको विरुद्धमा आज रौतहटको गरुडा बजारमा प्रदर्शन गरेको छ। पार्टीका नेताहरूले उक्त ऐनलाई “गरिब कर्मचारीमारा” भन्दै कडा विरोध जनाएका छन्।

गरुडा नगरपालिकास्थित मेथुर चौधरी चोकमा आयोजित प्रदर्शनमा संघीय निजामती ऐनको प्रति सार्वजनिकरूपमा जलाइएको थियो। विरोध प्रदर्शनको नेतृत्व आम जनता पार्टीका केन्द्रीय सदस्य रविन्द्र यादव लगायतका नेताहरूले गरेका थिए।

विरोधपछि आयोजित कोणसभामा यादवले भने, “सरकारले ल्याएको ऐन गरिब तथा विपन्न वर्गका कर्मचारीहरूको भविष्यसँग खेलवाड गर्न ल्याइएको हो। यस्तो विधेयक हामी कुनै हालतमा स्वीकार्न सक्दैनौं।”

उनले सरकारलाई चेतावनी दिँदै थपे, “यदि सरकारले तत्काल यो विधेयक सच्याएन भने, अझ कडा आन्दोलनमा उत्रन हामी बाध्य हुनेछौं।”

प्रदर्शनमा सहभागीहरूले “निजामती ऐन खारेज गर”, “गरिब कर्मचारीमाथिको अन्याय बन्द गर” जस्ता नारासहित जुलुस निकालेका थिए।

संघीय संसदबाट पारित भएको निजामती ऐनविरुद्ध देशभरबाट चौतर्फी विरोध भइरहेका बेला आजपा नेताहरूले काठमाडौँदेखि रौतहटसम्म विभिन्न स्थानहरूमा विधेयक जलाउने कार्यक्रम गरिरहेका छन्।

संघीय राजधानी काठमाडौँमा समेत आम जनता पार्टीका अध्यक्ष प्रभु साह स्वयंले संसद भवनको रोष्टममै विधेयक च्यातेर विरोध जनाएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM