२०८२ फाल्गुन २० गते बुधबार

रौतहटमा सर्पको डसाइबाट एक महिलाको मृत्यु

अशोक यादव ,असार १५,

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा सर्पको डसाइबाट एक महिलाको ज्यान गएको छ।

ईलाका प्रहरी कार्यालय कटहरियाका अनुसार वडा नम्बर ५, पानी टंकी टोल निवासी शिवशंकर साह सोनारका बुहारी तथा अनिल साहकी श्रीमती २५ वर्षीया रिंकु देवीलाई सर्पले टोकेको थियो।

आज बिहान घर अगाडि बाटोमा राखिएको माटो हटाउने क्रममा विषालु सर्पले टोकेपछि उनी गम्भीर घाइते भएकी थिइन्। तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख, वरिष्ठ सई विनोद राना मगरका अनुसार कुन प्रजातिको सर्पले टोकेको हो भन्ने पहिचान भने अझै भइसकेको छैन।

जिल्लामा गर्मीयाम सुरु भएयता सर्पदंशका घटनामा वृद्धि भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM