अशोक यादव
रौतहट । बारा जिल्लाको निजगढस्थित होटल राजमार्गमा प्रेस चौतारी नेपाल मधेस प्रदेश समितिको एकदिने प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री तथा नेकपा एमाले मधेस प्रदेश इञ्चार्ज लीलानाथ पौडेल रहेका थिए।
उक्त कार्यक्रममा बोल्दै पौडेलले प्रेस चौतारीमा आबद्ध सञ्चारकर्मीहरूले पार्टीको सिद्धान्त र नीतिका आधारमा इमानदारीपूर्वक प्रचारप्रसारमा लाग्नुपर्ने आवश्यकता औंल्याए। उनले सञ्चारकर्मीहरूलाई दहेज प्रथा, उत्पीडन, र सामाजिक कुरीतिहरू विरुद्ध कलम चलाउन आह्वान गरे।
उनले भने, “हामीसँग जनता छन्, जस पार्टीसँग जनता हुन्छ, उसलाई कसैले पराजित गर्न सक्दैन। संगठन बलियो बनाउन आपसी विश्वास र इमानदारी अपरिहार्य हुन्छ।”
कार्यक्रममा रौतहट, पर्सा र बाराका प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष, पदाधिकारी, मधेस प्रदेश समिति सदस्य तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रेस चौतारीमा नयाँ सदस्यहरूलाई स्वागत गर्दै संगठन विस्तार, जनसंगठन सुदृढीकरण तथा पार्टी नीतिप्रति प्रतिबद्धता जनाइएको थियो।









