अशोक यादव
रौतहट । रौतहटको कटहरिया नगरपालिका–१ मा रहेको श्री माध्यमिक विद्यालयबाट कम्प्युटर चोरी गरेको अभियोगमा तीन जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कटहरिया–१ भसेढवा निवासी २७ वर्षीय मुकेश दास, १९ वर्षीय राधेश्याम दास र १८ वर्षीय राजु दास रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार उनीहरूलाई चोरी मुद्दामा नियन्त्रणमा लिई म्याद थप गरेर अनुसन्धान जारी राखिएको छ।
गत शनिबार राति विद्यालय भवनको दोस्रो तल्लामा रहेको लेखा शाखाको ढोकाको ताल्चा फुटाएर डेल कम्पनीको एक थान कम्प्युटर सेट चोरी गरिएको थियो।

चोरीको अनुसन्धानका क्रममा आइतबार साँझ प्रहरीले आरोपी राजु दासको घरमा छापा मारेको थियो। छापामारको क्रममा हालै विद्यालयबाट चोरी भएका सबै सामग्रीसहित पहिले चोरी भएका केही सामग्रीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

श्री मावि भसेढवामा यसअघि पनि दुईपटक चोरी भएको थियो। सन् २०७७ र २०८१ सालमा विद्यालयको कम्प्युटरसहितका सामग्री चोरी भएको प्रधानाध्यापक राम मङ्गल यादवले जानकारी दिए। अनुसन्धानका क्रममा विद्यालयको छेउमै घर भएका आरोपीहरूले अघिल्ला घटनाहरूमा पनि संलग्न रहेको खुलेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।









