अशोक यादव
रौतहट | रौतहटको कटहरिया नगरपालिकाले किसानलाई धान उत्पादनमा प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा बीउ वितरण गरेको छ।
कटहरिया नगर प्रमुख अजय प्रकाश जैसवालको उपस्थितिमा आज मसिना तथा बास्नादार धान प्रवर्द्धन कार्यक्रम अन्तर्गत बीउ वितरण गरिएको हो। नगरपालिकाको कृषि शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा वडा नं. १ देखि ९ सम्मका करिब २ सय किसानलाई बीउ वितरण गरिएको प्रमुख जैसवालले जानकारी दिनुभयो।
“कृषिप्रति आश्रित किसानहरूको समस्यालाई ध्यानमा राख्दै यो कार्यक्रम ल्याइएको हो। यसले उनीहरूको उत्पादनमा वृद्धि हुने र जीवनस्तरमा समेत सुधार आउने विश्वास लिएको छु,” प्रमुख जैसवालले भन्नुभयो।
कार्यक्रममा नगर उपप्रमुख रिता देवी यादव, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्थानीय बुद्धिजीवी, भद्रभलाद्मी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कटहरिया नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।









