२०८२ फाल्गुन १९ गते मंगलवार

गरुडा–६ मा दुई कोठे वडा कार्यालय भवनको शिलान्यास

अशोक यादव

रौतहट, बैशाख १९ — गरुडा नगरपालिका वडा नम्बर ६ अन्तर्गत पोठियाहीमा निर्माण हुन लागेको दुई कोठे वडा कार्यालय भवनको शिलान्यास नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले गरेका छन्।

करिब २० लाख रुपैयाँको लागतमा निर्माण गरिने सो भवन स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले निर्माण गर्न लागिएको हो।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख जयसवालले भवन निर्माणपछि स्थानीय बासिन्दाहरूले आफ्नै टोलमै प्रशासनिक सेवा सहज रूपमा प्राप्त गर्न सक्ने बताए। “अब सेवा लिन नगर मुख्यालय धाउनुपर्ने अवस्था हट्नेछ,” उनले भने, “यो कार्यालयले जनतालाई अझ सहज र छरितो सेवा प्रदान गर्नेछ।”

उनका अनुसार स्थानीय तहमा सेवा पु‍र्‍याउने पहुँच विस्तार गर्नु र जनमैत्री शासन प्रणालीको स्थापना गर्नु यो कदमको मुख्य उद्देश्य हो। भवन निर्माण कार्य छिट्टै सुरु गरी तोकिएको समयसीमाभित्र सम्पन्न गरिने योजना रहेको समेत जानकारी दिइएको छ।

स्थानीय बासिन्दाहरूले पनि नयाँ वडा कार्यालय भवनले विकास र सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

Advertisement

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM