लुम्बिनी । बुद्ध जन्मभूमि लुम्बिनी, जहाँ शान्तिको सन्देशले विश्वलाई सदाचार र सहिष्णुताको बाटो देखायो, त्यही पवित्र भूमिमा हालै दक्षिण भारतको कर्नाटक राज्यबाट उच्च धार्मिक टोलीको विशेष आगमन भयो। राष्ट्रिय समता पार्टी नेपालका केन्द्रीय सदस्य ओमकार पाण्डेको नेतृत्वमा उक्त टोलीले लुम्बिनीको विभिन्न ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलहरूको दर्शन गरी भारत फर्किएको छ। टोलीको नेतृत्व ब्राह्मनिष्ठ महामंडलेश्वर १००८ श्री स्वामी सद्गुरु ब्राह्मानन्द सरस्वती महाराजले गर्नु भएको थियो।
महामंडलेश्वर ब्राह्मानन्द सरस्वती महाराज, जो पंचदशनाम जूना अखाडा रामक्षेत्र महासंस्थान, दक्षिण कन्नड जिल्ला कर्नाटक राज्यका प्रमुख आध्यात्मिक गुरु हुन्, उनी सशस्त्र भारतीय सिभिल सुरक्षा टोली सहित लुम्बिनी आएका थिए। नेपालको ऐतिहासिक र धार्मिक महत्व बोकेको यो भूमि पुगेपछि उनले निकै गहिरो भावना व्यक्त गरे।
उहाँले लुम्बिनीस्थित महामाया देवी मन्दिर, बुद्ध जन्म स्थल, रुमिन्देई शक्तिपीठ लगायतका स्थानहरूमा विशेष पूजा-अर्चना गरी दर्शन गर्नु भयो। दर्शनपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै महामंडलेश्वर सरस्वतीले भने,
“यो त्यही भूमि हो, जहाँ राजाकुलका धर्मात्मा राजा शुद्धोधन र उनको सम्पूर्ण परिवारले महामाया देवीको शक्तिस्वरूपा दर्शन गरेर आध्यात्मिक ऊर्जा प्राप्त गरे। यही भूमि हो, जहाँ सिद्धार्थ गौतमले कल्पौं कल्प तपस्या गरी महामायाको कोखबाट जन्म लिए। यस्तो दिव्य स्थलमा आइपुगेपछि म आफूलाई स्वर्गमा पुगेझैँ महसुस गरिरहेको छु।”
बौद्ध दर्शन र सनातन वैदिक परम्परा दुवैलाई सम्मानजनक दृष्टिकोणले हेरिरहने महामंडलेश्वर सरस्वतीले लुम्बिनीलाई “विश्वका सम्पूर्ण धर्मावलम्बीहरूको शान्तिको केन्द्र” भन्दै यसको महत्वलाई उच्च स्थानमा राखे।
“मानव कल्याणको लागि जन्मिएका सिद्धार्थ गौतम बुद्धले जुन ध्यान र ज्ञानको मार्ग दिनुभयो, त्यो आजका दिनमा झन् बढी आवश्यक छ। लुम्बिनी न केवल बौद्धहरूको तीर्थ हो, यो त सम्पूर्ण मानव जातिको लागि आत्मशुद्धिको मार्ग हो,” उहाँले भन्नुभयो।
स्वामी सरस्वतीले लुम्बिनीको दर्शनपछि नेपाली समाजमा देखिएको धार्मिक सद्भाव, आस्थाको गहिराइ र सांस्कृतिक समर्पणको खुलेर प्रशंसा गरे।
“नेपालको माटोमा धर्मको सुवास छ। यहाँका जनतामा आस्था छ, संस्कार छ। यस्तो देशसँग भारतको सम्बन्ध केवल राजनीतिक हैन, यो आत्माको सम्बन्ध हो। मेरो यो भ्रमणले नेपाल–भारतको धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउनेछ,” उहाँले भावुक हुँदै भन्नुभयो।
उहाँको भ्रमणलाई नेपाली धार्मिक समुदायले पनि अत्यन्तै सकारात्मक रुपमा लिएको देखियो। लुम्बिनी क्षेत्रका पुरोहित, साधु-सन्त र स्थानीय बासिन्दाहरूले ब्राह्मनन्द सरस्वतीको स्वागत गर्दै उनलाई लुम्बिनी दर्शनको ऐतिहासिक यात्रामा साथ दिए।
महामंडलेश्वरको भ्रमणले लुम्बिनी र विशेषगरी रुमिन्देई शक्तिपीठको अन्तर्राष्ट्रिय पहिचानलाई बलियो बनाउने विश्वास स्थानीय धार्मिक अगुवाहरूले व्यक्त गरेका छन्। रुमिन्देई माई शक्तिपीठलाई अब हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूको संयुक्त श्रद्धा स्थलको रुपमा विश्व सामु प्रस्तुत गर्न सकिने धारणा पनि व्यक्त गरियो।
भ्रमणले लुम्बिनीको धार्मिक पर्यटनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। दक्षिण भारतको एक प्रमुख आध्यात्मिक व्यक्तित्वको नेपाल भ्रमण, विशेषगरी बुद्ध जन्मस्थलमा गरिएका गतिविधिहरू, दुई देशबीचको आध्यात्मिक सम्बन्धलाई झनै नजिक ल्याउने ऐतिहासिक अवसरका रुपमा हेरिएको छ।
उक्त टोलीको नेपाल भ्रमण सुरक्षित र सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै महामंडलेश्वर ब्राह्मानन्द सरस्वती महाराज भारत फर्किएका छन्।









