२०८२ फाल्गुन १९ गते मंगलवार

गहवा माई मन्दिरमा हिन्दू युवाहरूको समर्पण: राष्ट्रिय समता पार्टीमा दर्जनौंको प्रवेश

दिपेन्द्र सहनी, पर्सा | जेठ ३ गते

पर्सा जिल्लाको ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र मानिने गहवा माई मन्दिर को पवित्र प्रांगण आज विशेष कार्यक्रमको साक्षी बन्यो, जहाँ दर्जनौं हिन्दू युवाहरूले राष्ट्रिय समता पार्टी नेपालमा औपचारिक प्रवेश गर्दै पार्टीप्रति आफ्नो आस्था, विश्वास र समर्पणको अभिव्यक्ति गरे।कार्यक्रमको मुख्य आकर्षण बनेका थिए हिन्दू वीर योद्धाहरू — विक्रम बालाजी, रवि सर्राफ, ओम बर्नवाल, सत्यम कर्ण, रञ्जित सर्राफ, सत्यम गुप्ता लगायतका युवाहरू, जसले राष्ट्रिय समता पार्टी नेपालको नीति, दर्शन र उद्देश्यप्रति प्रतिबद्धता जनाउँदै पार्टीमा प्रवेश गरे।

पार्टी प्रवेश कार्यक्रम धार्मिक र सांस्कृतिक भावनासँग गाँसिएको थियो। नवप्रवेशी सदस्यहरूले प्रवेश गरेलगत्तै गहवा माईको विधिवत दर्शन र पूजा-अर्चना गरी कार्यक्रमको शुभारम्भ गरेका थिए। यो धार्मिक उपस्थिति केवल आस्था मात्र होइन, हिन्दू संस्कृतिप्रति निष्ठाको प्रतिक पनि देखिएको थियो।

उक्त कार्यक्रममा राष्ट्रिय समता पार्टी नेपालका केन्द्रीय महासचिव आदरणीय अभिषेक तिवारीको प्रमुख आतिथ्यता रहेको थियो। साथै, वीरगञ्ज महानगर कार्यसमितिका अध्यक्ष अमर सर्राफ, महानगर पदाधिकारी अर्जुन सराफ र पर्सा जिल्ला महिला प्रमुख वन्दना शर्माको पनि गरिमामय उपस्थिति रहेको थियो।

महासचिव तिवारीले नवप्रवेशी युवा योद्धाहरूलाई स्वागत गर्दै भने, “देशको सांस्कृतिक पहिचान, धार्मिक स्वतन्त्रता र ओमकार परिवारहरूको संरक्षणका लागि राष्ट्रिय समता पार्टी गठन गरिएको हो। हाम्रो लक्ष्य ९०% हिन्दू ओमकार समुदायको हित संरक्षण गर्दै राष्ट्रिय एकता र आत्मगौरव सुदृढ गर्नु हो।”

पार्टीमा प्रवेश गरेका युवाहरूले राष्ट्रिय समता पार्टीलाई एउटा वैचारिक, सांस्कृतिक र राष्ट्रवादी अभियानको रूपमा लिएका छन्। उनीहरूले देशमा हिन्दू सभ्यता, संस्कृति र सनातन धर्ममाथि आउने चुनौतिहरूको सामना गर्न संगठित शक्ति निर्माण गर्ने अठोट लिएका छन्।

ओम बर्नवालले आफ्नो मन्तव्यमा भने, “हामी केवल पार्टी प्रवेश गर्न आएका छैनौं, हामी हाम्रो धर्म, संस्कार र राष्ट्रको अस्तित्व जोगाउन जुट्न आएका हौं।” यस्तै, विक्रम बालाजीले पार्टीको वैचारिक स्पष्टता र नेतृत्वप्रतिको विश्वासले आफूहरूलाई आकर्षित गरेको बताए।


कार्यक्रमले पर्सा र वीरगञ्ज क्षेत्रका स्थानीय बासिन्दाहरूमा पनि सकारात्मक उत्साह भरेको छ। धेरैले युवा पुस्ताको यस्तो जागरुकता र सक्रियताले सामाजिक, धार्मिक तथा राजनीतिक चेतनामा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन्।
पार्टीप्रवक्ता अमर सर्राफले भने, “यो केवल राजनीतिक कार्यक्रम होइन, यो हाम्रो मूल्य, आस्था र संस्कृतिको पुनर्जागरण हो।”
गहवा माई मन्दिरको प्रांगणमा सम्पन्न भएको हिन्दू युवाहरूको पार्टी प्रवेश कार्यक्रमले राष्ट्रिय समता पार्टी नेपालको संगठनलाई जनस्तरसम्म पु-याउने र धार्मिक तथा सांस्कृतिक चेतनाको जागरण ल्याउने दिशामा महत्वपूर्ण सन्देश दिएको छ।

कार्यक्रमको समापन जय श्रीराम का गगनचुम्बी नारासहित उत्साहजनक वातावरणमा सम्पन्न भयो। उपस्थित सबैलाई धन्यवाद दिँदै आयोजकहरूले आगामी दिनमा यस्ता कार्यक्रमहरू अझ विस्तारमा लैजाने प्रतिबद्धता समेत जनाएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM