वीरगञ्ज, जेठ ३ – कक्षा १२ को वार्षिक परीक्षा सम्पन्न भएपछि वीरगञ्जका विभिन्न विद्यालयका विद्यार्थीहरूले शुक्रबार उल्लासपूर्वक खुशीयाली मनाएका छन्।
परीक्षाको अन्तिम दिन वीरगञ्जको मेनरोड क्षेत्रमा विद्यार्थीहरू डिजे साउण्ड बजाउँदै नाचगानमा रमाउँदै नगर परिक्रमा गरेका थिए। विद्यालय नजिकैबाट सुरु भएको उनीहरूको यात्रा घण्टाघर, माईस्थान चौक, आदर्शनगर हुँदै नगरका प्रमुख भागसम्म पुगेको थियो।
गीत–संगीतमा रमाउँदै उनीहरूले आफ्नो परीक्षा सकिएको खुसी खुलेर व्यक्त गरेका थिए। डिजे साउण्ड, नृत्य र उत्साहपूर्ण वातावरणले शहरको सडकहरू चहलपहलयुक्त बनाएको थियो।
नगर प्रहरी र ट्राफिक प्रहरीको निगरानीमा कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको वीरगञ्ज प्रहरीले जनाएको छ।









