
शैलेश गुप्ता
पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं. ४ मा अवस्थित पोखरिया अस्पतालमा अब नसा तथा हाडजोर्नी, बालरोग, डेन्टल लगायतका विशेष उपचार सेवा उपलब्ध हुने भएको छ।
पोखरिया अस्पतालको सभा हलमा आयोजित एक विशेष कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सिङ स्टाफलाई स्वागतसहित सम्मान गरिएको छ। कार्यक्रममा नसा तथा हाडजोर्नी विशेषज्ञ डा. अरविन्द साह, डेन्टल अधिकृत सरिता राउत चौरसिया, नर्सिङ अधिकृत एवं अस्पताल निरीक्षक सवेनाज बेगम तथा अहेव मधु यादवलाई सम्मान गरिएको हो।
कार्यक्रमको प्रमुख अतिथि एवं पोखरिया नगरपालिकाका मेयर तथा पोखरिया अस्पताल विकास समिति अध्यक्ष प्रद्युम्न प्रसाद चौहानले सम्बोधन गर्दै पोखरिया अस्पतालको विकास तथा सुधारका लागि आफू दिनरात खटिएको उल्लेख गरे। उनले ग्रामीण भेगका नागरिकलाई अबबाट बिरगञ्ज वा निजी अस्पताल जानु नपर्ने र सस्तो, सहज एवं गुणस्तरीय सेवा यही पोखरिया अस्पतालमै उपलब्ध हुने बताए।
कार्यक्रम पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा डा. सुरेश यादव, पोखरिया नगरपालिका स्वास्थ्य शाखाका सहायक शिव पटेल, दिपिका सिंह, भगवान प्रसाद कुर्मी, ब्रिजेश दुबेदी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।









