पर्सा — पर्सा जिल्लाको धोबीनी गाउँपालिका–५, सानो धोबीनीमा बुधबार दिउँसो भएको भीषण आगलागीमा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीमा परी स्थानीय धोबी मियाँको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको हो।इलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायब निरीक्षक (सई) ज्योति प्रकाश कार्कीका अनुसार आगलागीमा परेर घरभित्र रहेका १२ वटा बाख्रा, १२ क्विन्टल धान, लत्ताकपडा, भाँडाकुडा, अन्नपातलगायत दैनिक उपभोग्य सामग्रीहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
स्थानीयका अनुसार आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन। यद्यपि, विद्युत सर्ट सर्किट वा चुलोबाट आगो सल्किएको हुन सक्ने आशंका गरिएको छ। आगोको तीव्रता यति धेरै थियो कि स्थानीय बासिन्दाले पानी र बाल्टीको सहायताले आगो निभाउने प्रयास गरे पनि घर जोगाउन सकिएन।आगलागीबाट भएको क्षतिको प्रारम्भिक अनुमान अनुसार लाखौं रुपैयाँ बराबरको क्षति पुगेको बताइएको छ। घटनास्थलमा सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।









