२०८२ फाल्गुन १९ गते मंगलवार

पूर्वमन्त्री रिजालद्वारा जगरनाथपुर–५ को नवनिर्मित वडा कार्यालय उद्घाटन

वीरगन्ज— पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–५ मा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन पूर्वउद्योग मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले बुधबार एक विशेष समारोहका बीच सम्पन्न गरेका छन्।

समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री रिजालले विकास निर्माणका कार्यहरूमा सबै राजनीतिक दलहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। “गाउँठाउँको समुचित विकास हुन सके मात्र जनताले लोकतन्त्र र संघीयताको वास्तविक अनुभूति गर्न सक्नेछन्,” उनले उल्लेख गरे।

कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले अब आफनै भवनबाट वडा कार्यालय सञ्चालनमा आएपछि कर्मचारीहरूलाई सेवा प्रवाह गर्न सहज हुने र सेवाग्राहीहरूले पनि प्रत्यक्ष लाभ पाउने बताए। उनले गाउँपालिकाले सबै वडामा विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जनाए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवका अनुसार जिल्ला समन्वय समिति पर्सा र जगरनाथपुर गाउँपालिकाको साझेदारीमा करीब १ करोड १० लाख रुपैयाँ लागतमा दुई तले भवन निर्माण गरिएको हो।

वडाध्यक्ष बिहारी महतो नुनियाको अध्यक्षता तथा पूर्वमन्त्री रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य शंकर चौधरी, गाउँपालिका उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, स्थानीय नेताहरू र समाजसेवीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM