२०८२ फाल्गुन १९ गते मंगलवार

रौतहटको गुजरा-३ मा माओवादी केन्द्रलाई ठूलो झट्का, सयौँ कार्यकर्ता एमालेमा प्रवेश

अशोक यादव, बैशाख ३१, रौतहट — रौतहट जिल्लाको गुजरा नगरपालिका–३ सिमरीमा नेकपा माओवादी केन्द्रलाई ठूलो झट्का लागेको छ। माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य, माझी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष तथा माओवादी केन्द्र गुजरा नगर इन्चार्ज काजीमान माझीको नेतृत्वमा सैयौं कार्यकर्ताहरू बुधबार नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

भोलनटार, इपिलबस्ती र सिमरी क्षेत्रका कार्यकर्ताहरू सहभागी उक्त पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रले जनताको पक्षमा कुनै प्रभावकारी काम गर्न नसकेको तथा आफ्नै कार्यकर्ताहरूको मूल्यांकन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिएको थियो।

कार्यक्रममा बोल्दै माझीले गरीब, निमुखा तथा सुकुम्बासीहरूको स्थायी बसोबासको सुनिश्चितताका लागि माओवादी केन्द्रलाई पटक–पटक ताकेता गरिए पनि पार्टीले बेवास्ता गर्दै उल्टै भूमि आयोगसम्बन्धी विधेयकमाथि प्रश्न उठाउने र विधेयक पास हुन नदिने भूमिका खेलेको आरोप लगाए। “अब माओवादी केन्द्र जनताको पार्टी रहेन,” माझीले भने, “त्यसैले हामी सयौँ कार्यकर्तासहित एमालेमा प्रवेश गरेका हौँ।”

पार्टी प्रवेश कार्यक्रमलाई भूमि समस्या समाधान आयोगका केन्द्र सदस्य तथा मधेस प्रदेश इन्चार्ज आरती भण्डारी, नेकपा (एमाले) रौतहट जिल्ला अध्यक्ष अखलेश्वर चौधरी लगायत स्थानीय नेताहरूले सम्बोधन गरेका थिए। उनीहरूले नयाँ प्रवेश गरेका कार्यकर्ताहरूलाई पार्टीको तर्फबाट स्वागत गर्दै आगामी दिनमा एमालेलाई अझै सशक्त बनाउने विश्वास व्यक्त गरे।यस घटनालाई स्थानीय राजनीतिक सन्तुलनमा उल्लेखनीय परिवर्तनका रूपमा हेरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM