२०८२ फाल्गुन १९ गते मंगलवार

मधेश पत्रकारिता क्षेत्रले गुमायो एक सशक्त आवाज

अशाेक यादब ।बैशाख ३१
बिगत लामो समयदेखि ब्रेन ट्युमरबाट पीडित रहँदै उपचाररत वरिष्ठ पत्रकार फणिदेव महतको मंगलबार दुःखद निधन भएको छ । उनी ४८ वर्षका थिए । महतको निधनसँगै नेपाली पत्रकारिता क्षेत्रले एक निडर, कर्मठ र अनुभवी पत्रकार गुमाएको छ ।
पत्रकार महतको स्वास्थ्य स्थिति विगत केही वर्षदेखि जटिल बन्दै गएको थियो । प्रारम्भमा नेपालमै उपचार गरिएको भए पनि स्थितिमा सुधार नआएपछि भारतको विभिन्न अस्पतालमा समेत उपचार गराइएको थियो ।

तर, आर्थिक अभावका कारण परिवारलाई उपचार खर्च जुटाउन कठिनाइ भएको थियो । उनको सहयोगार्थ पत्रकार महासंघ, प्रेस चौतारी , सामाजिक संघ–संस्था, राजनीतिक दलका अगुवा तथा सर्वसाधारण लगायत संघसंस्थाले अपिलसमेत गरेका थिए । यद्यपि, ब्रेन टयुमर रोगसँग लड्दै आएका महतले अन्ततः हार मानेका छन्।

महतले करिब तीन दशकसम्म नेपाली पत्रकारिता क्षेत्रमा सकृय भूमिका निर्वाह गरेका थिए । अन्नपूर्ण पोस्ट दैनिकका रौतहट संवाददाताका रूपमा लामो समय योगदान दिए । साथै, चन्द्रनिगापुरबाट सञ्चालन हुने रेडियो सुप्रिमका संस्थापक निर्देशक तथा अनलाइन पोर्टल ’कलमपाटी डटकम’का प्रमुख सम्पादक समेत रहेका थिए । उनले मधेश प्रदेशमा प्रेस चौतारी नेपालको अध्यक्ष पद समेत सम्हालेका थिए ।

स्थानीय मुद्दा, भ्रष्टाचार विरुद्धको लेखन तथा जनताको आवाज बुलन्द गरिरहने पत्रकार महतलाई निर्भीक पत्रकारका रूपमा चिनिन्थ्यो । जनताको पक्षमा कलम चलाउने उनको साहसी भूमिका सधैँ स्मरणीय रहनेछ । उनको पार्थिव शरीरलाई बुधबार बिहान श्रद्धाञ्जलि कार्यक्रम सहित अन्त्येष्टि गरिने छ । अन्तिम श्रद्धाञ्जलिमा पत्रकार, राजनेता, सामाजिक अगुवा, नागरिक समाजका प्रतिनिधिहरूको उल्लेख्य उपस्थितिको लागी परिवारले हार्दिक अनुरोध समेत गर्नु भएको हो ।

उनका परिवारमा श्रीमती र दुई छोरा छन् । पत्रकार महतप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सम्पूर्ण पत्रकारिता क्षेत्रले उनको योगदानलाई उच्च सम्मानका साथ स्मरण गरेको छ । “पत्रकार महतको निधनले मधेश र समग्र नेपाल पत्रकारिता क्षेत्र शोकमा डुबेको छ । उहाँको योगदान अविस्मरणीय छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।”

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM