अशोक यादव
रौतहट, बैशाख ३०। रौतहट जिल्लामा पछिल्ला दिनहरूमा बढ्दो गर्मीका कारण पोखरीमा पालिएका लाखौं रुपैयाँ बराबरका माछा मरेर नष्ट भएका छन्।गढीमाई नगरपालिका–४ निवासी कृषक रामप्रित सहनी का अनुसार चर्को घामका कारण पोखरीको पानीको तापक्रम अत्यधिक बढेपछि उनका दुई बिघा क्षेत्रफलमा फैलिएको पोखरीका हजारौं माछा मरेका हुन्।
पीडित सहनीका अनुसार माछा पालनबाट जीवन चलाइरहेका उनी अहिले गम्भीर आर्थिक संकटमा परेका छन्।“पानीको तापक्रम यति बढी भयो कि माछाहरूले सहन सकेनन्, बेच्ने बेला भएको माछा मरेर लाखौंको नोक्सानी भयो,” – सहनीको भनाइ छ।उनले प्रारम्भिक रूपमा पाँच लाख रुपैयाँभन्दा बढीको क्षति भएको बताएका छन्।गर्मीको असर अझै पनि जारी रहेको र बाँकी माछाहरू पनि मर्न थालेको उनले जनाए।“धेरै मेहनत र लगानीले माछा पालेका थियौँ, तर अहिले घर कसरी चलाउने भन्ने चिन्ताले सताएको छ,” – उनले भने।
सहनीले आफूले भोगेको क्षतिको उचित मूल्यांकन गरी राहत उपलब्ध गराउन स्थानीय सरकारसँग माग गरेका छन्।
रौतहटका अन्य माछा पालक कृषकहरू पनि गर्मीका कारण पोखरीको पानी तात्न थालेपछि माछा मर्न थालेको र उत्पादन घटेको गुनासो गरिरहेका छन्।बढी आम्दानीका लागि खेतबारीमा पोखरी निर्माण गरी माछापालन सुरु गरेका कृषकहरू अहिले गर्मीका कारण पोखरी सुकेर माछा मर्ने क्रमले चिन्तित बनेका छन्।बिक्रीको लागि तयार अवस्थामा रहेका माछा मरेपछि उनीहरूलाई ठूलो आर्थिक समस्या सिर्जना भएकोछ।









