२०८२ फाल्गुन १९ गते मंगलवार

मधेशको संस्कृति समेट्ने ‘माटो पार्क’ को डा. राउतद्वारा शिलान्यास

शैलेश गुप्ता, २७ बैशाख, पोखरिया |

पर्सा जिल्लाको पोखरिया नगरपालिका–९ स्थित भेद्राहमाई मन्दिर परिसरमा निर्माण हुन लागेको ‘माटो पार्क’ को शिलान्यास आज जनमत पार्टीका अध्यक्ष तथा संघीय सांसद डा. सि.के. राउतले मधेश प्रदेशका मुख्यमन्त्री छत्तीस कुमार सिंह र पोखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युम्न प्रसाद चौहानसँग संयुक्त रूपमा सम्पन्न गरे।

डा. राउतले मधेशको सांस्कृतिक र ऐतिहासिक पहिचान झल्काउने उद्देश्यले पार्क निर्माण थालिएको जानकारी दिए। उनका अनुसार प्रदेश सरकारले माटो पार्कको निर्माणका लागि १ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। करिब चार बिघा क्षेत्रफलमा फैलिने यो पार्कमा मधेश प्रदेशका १३६ वटै स्थानीय तहबाट संकलित माटोलाई प्रदर्शन गरिने छ।

उक्त माटोहरू डा. राउतले केही वर्षअघि संचालन गरेको माटो यात्रा अभियान’ बाट संकलन गरिएको हो। उनले यो पार्क मधेशको एकता, पहिचान र गौरवको प्रतीक बन्ने विश्वास व्यक्त गरे।

पार्कको निर्माणपछि यो स्थान मधेशकै सांस्कृतिक गन्तव्य बन्ने र पर्यटकीय आकर्षण बढाउने अपेक्षा गरिएको छ। साथै, मधेशमा सांस्कृतिक चेतनाको अभिवृद्धि हुने डा. राउतले बताए।

कार्यक्रम पोखरिया नगरप्रमुख प्रद्युम्न प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि डा. सि.के. राउत थिए भने विशिष्ट अतिथि मधेश प्रदेशका मुख्यमन्त्री छत्तीस कुमार सिंह रहे।

सो अवसरमा प्रदेश सरकारका वन तथा वातावरणमन्त्री त्रिभुवन साह, उप–प्रमुख रूबी कुमारी ठाकुर, पूर्व सांसद हरिनारायण प्रसाद रौनियार, वडा अध्यक्ष लक्ष्मण साह कानु, किशोरी साह तेली, नौशाद आलम, भगवान प्रसाद कुर्मी, प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सिंह, नगर प्रहरी इञ्चार्ज दिनेश प्रसाद चौहान, जिल्ला वन कार्यालय वीरगञ्जका कर्मचारी तथा विभिन्न पार्टीका नेता–कार्यकर्ताहरूको समेत उल्लेखनीय उपस्थिति थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM