२०८२ फाल्गुन १९ गते मंगलवार

तीन मोटरसाइकल ठोक्किँदा दुई घाइते, कटहरिया तनावग्रस्त

अशोक यादव, बैशाख २४, रौतहट
रौतहटको कटहरियामा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। कटहरिया–गम्हरिया सडक खण्डमा आइतवार दिउँसो भएको उक्त दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

घाइते हुनेमा फतुवा बिजयपुर नगरपालिका–४, टेंग्रहाका अन्दाजी ३५ वर्षीय जिनीस कुमार साह र ४८ वर्षीय अनुठा यादव रहेका छन्। उनीहरूलाई उपचारका लागि वीरगञ्जस्थित गण्डक अस्पताल पठाइएको छ।

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार सशस्त्र प्रहरीले चलाएको बा ८४ प ७३८३ नम्बरको मोटरसाइकल, एक तस्करले चलाएको ग ४ प ४०७३ नम्बरको मोटरसाइकल र बिआर ३० बि ७९३६ नम्बरको अर्को मोटरसाइकल आपसमा ठोक्किएका हुन्। दुर्घटनापछि तस्कर भने फरार भएको प्रहरीले जनाएको छ।

घटनापछि आक्रोशित स्थानीय बासिन्दाले कटहरिया–गम्हरिया सडक खण्ड अवरुद्ध गरेका छन्। स्थानीयको आरोप अनुसार, प्रहरीले तस्करलाई पछ्याउने क्रममा दुर्घटना भएको हो भने, प्रहरी पक्षले तस्करले प्रहरी देखेपछि भाग्ने क्रममा दुर्घटना भएको बताएको छ।

घटनामा आक्रोशित स्थानीयले गरेको कुटपिटका कारण सशस्त्र प्रहरीका एक जवान पनि घाइते भएका छन्। इलाका प्रहरी कार्यालय कटहरिया अहिले तनावग्रस्त रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM