२०८२ फाल्गुन १९ गते मंगलवार

गैरीगाउँ को गाडी अझै बेपत्ता, नमुना परीक्षणपछि मात्र उद्धार कार्य अघि बढ्ने

 प्रमोद सहनी

मकवानपुर । मकवानपुर हेटौंडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँमा गत शुक्रबार डुबेको सवारी साधन अझै फेला परेको छैन। खानी तथा भूगर्भ विभागको प्राविधिक टोलीले घटनास्थलमा प्रारम्भिक अध्ययन सम्पन्न गरी काठमाण्डौ फर्किएको छ। अब ल्याब परीक्षणपछि मात्र दोस्रो चरणको खोज तथा उद्धार कार्य सुरु हुने भएको छ। टोलीले आज दिउँसो २:४० बजे माटोको बनावट, चुम्बकीय अवस्था र भूमिगत जलको अवस्थाबारे परीक्षण सम्पन्न गरेको थियो।

भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा गएको टोलीले ‘प्रोटोन म्याग्नेटोमिटर’ प्रविधिबाट नमुना संकलन गरेको हो। टोलीका अनुसार संकलित माटो र पानीका नमुनाहरूको प्रयोगशाला विश्लेषणपछि मात्र गाडीको ठ्याक्कै अवस्थिति पत्ता लगाइनेछ। “हामीले सतहमुनिको संरचना थाहा पाउन प्रविधियुक्त परीक्षण गरेका छौँ,” अधिकारीले बताए, “अब वैज्ञानिक विश्लेषणपछि मात्र उद्धार रणनीति तय हुन्छ।” गत वैशाख १९ गते ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बलेरो गाडी स्थानीय हरि राईको बोरिङ खाल्डोमा डुबेको थियो।

गाडीको अगाडिको पाङ्ग्रा फसेपछि निकाल्ने प्रयास भइरहँदा अचानक जमिन भासिएर सिंगो गाडी हराएको थियो। चालक सकुशल रहेका छन् तर गाडी तीन दिनसम्मको प्रयासपछि पनि नदेखिएकोले खोजी कार्य रोकिएको थियो। स्थानीय बासिन्दा त्रसित छन्। सडक नजिक जमिन भासिएको दृश्यले उनीहरूलाई घरपरिवारको सुरक्षाबारे चिन्तित बनाएको छ। उपमहानगरपालिकाले घटनालाई गम्भीरता दिँदै भूगर्भविद् टोलीको सहयोगमा वैज्ञानिक अध्ययन गरिरहेको हो। अब ल्याब परीक्षणको नतिजा सार्वजनिक भएपछि मात्र उद्धारको सम्भाव्य योजना र जोखिमको आकलन गरिने जनाइएको छ

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM