प्रमोद सहनी
मकवानपुर, वैशाख २३ । हेटौंडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडक खण्डमा गत शुक्रबार जमिन भासिँदा एक बलेरो गाडी पानीसहितको खाल्डोमा पुरिएर बेपत्ता भएको घटनाको अनुसन्धान गर्न खानी तथा भूगर्भ विभागको टोलीले औपचारिक अध्ययन सुरु गरेको छ। ना ४ च ४८३३ नम्बरको उक्त बलेरो गाडी माछा बोकेर गैरीगाउँबाट चुच्चेखोला तर्फ जाँदै गर्दा सडक छेउमा रोकेको अवस्थामा जमिन भासिएको थियो। स्थानीय हरि राईको नाममा रहेको गाडीको अगाडिको पाङ्ग्रा भासिएपछि झिक्ने प्रयास भइरहँदा अचानक पूरै गाडी खाल्डोमा पुरिएको थियो। गाडीमा चालक मात्र थिए, जो सकुशल छन्। उक्त खाल्डो हरि राईले बोरिङका लागि खनेको खाल्डो रहेको र त्यसमा जमेको पानीका कारण माटो नरम भएर गाडी भासिएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनापछि लगातार तीन दिनसम्म मोटर पम्पमार्फत पानी तानी गाडी खोज्ने प्रयास गरिए पनि गाडीको अवस्था अझै पत्ता लागेको छैन। यसबीचमा खाल्डोको साइडबाट माटो भासिँदै गएपछि खाल्डोको आकार झनै बढेको छ। हेटौंडा उपमहानगरपालिकाले गम्भीरता देखाउँदै खानी तथा भूगर्भ विभागसँग सम्पर्क गरी भूगर्भविद् टोली बोलाएको हो। भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा चार सदस्यीय टोली मंगलबार घटनास्थलमा पुगेको छ। टोलीले जमिनको संरचना, चुम्बकीय क्षेत्र र सतहमुनिको अवस्था बुझ्न ‘प्रोटोन म्याग्नेटोमिटर’ जस्ता प्रविधि प्रयोग गर्दै अध्ययन थालेको जानकारी दिएको छ। भूगर्भविद् अधिकारीका अनुसार सतहमुनिको माटोको बनावट, भूमिगत जलस्रोत र संभावित गुहाहरूको अवस्थाबारे यथार्थ तथ्य संकलन भइरहेको छ।
“सतहमुनिको चुम्बकीय क्षेत्र मापन गरेर जमिन कत्तिको अस्थिर छ भन्ने पत्ता लगाउन सकिन्छ,” अधिकारीले भने। स्थानीयवासीहरू भने त्रसित छन्। सडक छेउको जमिन एकाएक भासिनु र सवारीसाधन हराउनु सामान्य घटना नभएको उनीहरूको भनाइ छ। कतिपय बासिन्दाले आफूहरू राति डराएर बस्न थालेको बताएका छन्। भूगर्भविद् टोलीको प्रतिवेदनपछि मात्र घटनाको वास्तविक कारण र सम्भावित जोखिमबारे थप जानकारी आउने जनाइएको छ।









