करण कुमार मिश्रा
रौतहट, वैशाख २२ । रौतहट जिल्लाको बृन्दावन नगरपालिका–६ स्थित हर्षाहा उत्तर चौकमा बहुउद्देश्यीय सभागृह भवनको शिलान्यास गरिएको छ। सामाजिक, सांस्कृतिक र धार्मिक कार्यक्रमहरूको आयोजना सहज बनाउने उद्देश्यले निर्माण गर्न लागिएको यस सभागृहको अनुमानित लागत एक करोड रुपैयाँ रहेको छ।
सोमबार आयोजित एक विशेष समारोहका बीच प्रतिनिधिसभाका पूर्व सांसद तथा नेकपा ९एस० का स्थायी कमिटी सदस्य कल्याणी खड्का र बृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले संयुक्त रूपमा हिन्दू परम्पराअनुसार वैदिक मन्त्रसहित पुरोहितमार्फत भवन निर्माण कार्यको शिलान्यास गरे।
सभागृह निर्माण संघीय सरकारको सङ्घीय सहरी तथा बस्ती विकास कार्यक्रम अन्तर्गत भइरहेको हो। नगरपालिकाले सभागृह निर्माणलाई प्राथमिकताको पूर्वाधार मानेको छ, जसले नगरवासीहरूका लागि बहुउद्देश्यीय सार्वजनिक स्थानको अभाव पूर्ति गर्नेछ।
नगर प्रमुख विनोद प्रसाद कुर्मीले समारोहमा बोल्दै भने, “यो सभागृहले बृन्दावन नगरभित्र विविध सांस्कृतिक कार्यक्रम, सभा, गोष्ठी, विवाह, धार्मिक अनुष्ठान जस्ता कार्यक्रम सञ्चालन गर्न सहयोग पुर्याउनेछ। नगरको सामाजिक जीवनशैलीलाई समुन्नत बनाउने यो हाम्रो दीर्घकालीन सोच अन्तर्गतको आयोजना हो।”
उनले संघीय सरकारले दिएको बजेटको अधिकतम सदुपयोग गर्दै पारदर्शी ढंगले निर्माण कार्य सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे।
शिलान्यास समारोहमा मधेश प्रदेश सभा सदस्य कनिस पटेलले बृन्दावन नगरको विकासका लागि सबै तहका सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताए। उनले भने, “स्थानीय विकास संघीय संरचनाको मूल आधार हो। यस्तो खालको पूर्वाधारले स्थानीय जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्छ।”
उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय
अधिकृत खिम बहादुर भुजेल, वडा नं। ५ का अध्यक्ष फेकु दास, वडा नं। ८ का अध्यक्ष रविन्द्र साह, वडा नं। ९ का अध्यक्ष प्रबेज आलम लगायतका वडाध्यक्षहरू, पालिकाका कर्मचारी, बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी र स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहमा सहभागीहरूले सभागृह भवन निर्माणले नगरको सामाजिक जीवनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताको संरक्षणमा पनि यस्तो भवनले सहयोग पुर्याउने उनीहरूको भनाइ थियो।
नगरपालिकाका अनुसार सभागृह भवन निर्माण कार्य छिट्टै सुरु गरिनेछ र तोकिएको म्यादभित्र गुणस्तरीय निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ।









