२०८२ फाल्गुन २१ गते बिहीबार

इटहरीको तरहरामा ग्याङ फाइट , दुई घाइते, तीन पक्राउ, मुख्य योजनाकार घिमिरे

रातो न्युज सम्बादाता

सुनसरी सुनसरीको इटहरी उपमहानगरपालिका–२०, तरहरामा आइतबार बिहान करिब १० बजे ग्याङ फाइट भएको छ। पुरानो रिसिइबीका कारण दुई समूहबीच झडप हुँदा दुईजना व्यक्ति गम्भीर घाइते भएका छन् भने तीनजना पक्राउ परेका छन्। प्रहरीका अनुसार घटनाको योजना सुशानजङ्ग घिमिरेले बनाएका थिए।

 

घटनामा इटहरी–२ घर भएका करिब २५ वर्षीय पारस उर्फ किरन राईको घाँटीमा धारिलो हतियार प्रहार गरिएको छ। उनलाई तत्कालै उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो । हाल उनको उपचार भइरहेको छ। अर्का घाइते इटहरी–२० तरहराका ४० वर्षीय वीरेन उर्फ बाबु बुढाथोकीको टाउकोमा चोट लागेको छ। उनलाई सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

घटनाबारे जानकारी दिन्दै इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीले भने, “दुवै समूहबीचको झडप पुरानो रिसिइबीकै कारण भएको देखिन्छ। यद्यपि, घटनाको पूर्ण विवरण अझै खुलेको छैन, अनुसन्धान जारी छ।” घाइते दुबैजनालाई प्रहरीले हाल निगरानीमा राखेको छ।

स्थानीय आकाश गिरी तरकारी किन्न पसल गएका बेला इटहरी–२० धनपुरी मार्ग बस्ने १९ वर्षीय सुशानजङ्ग घिमिरे नेतृत्वको समूहले उनलाई लक्षित गरी आक्रमण गरेको थियो। घिमिरे समूहले योजनाबद्ध रूपमा गिरीमाथि आक्रमण गरेपछि दुई समूहबीच झडप चर्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। आकाश गिरी भने हाल फरार छन् र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा इटहरी–२० का सुशानजङ्ग घिमिरे, इटहरी–२ का २३ वर्षीय अरुण राई र नितेस बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रत्यक्षदर्शीका अनुसार, आक्रमणकारीहरू खुकुरी र फलामका हतियारसहित आएका थिए। उनीहरूले योजनाबद्ध रूपमा आक्रमण गरेर झडपलाई हिंसात्मक बनाएका थिए।

घटनामा घाइते भएका वीरेन बुढाथोकी तरहरामा कवाडी पसल सञ्चालन गर्दै आएका थिए भने आकाश गिरी सोही पसलमा काम गर्दै आएका थिए। प्रारम्भिक अनुसन्धान अनुसार, यही व्यवसायिक सम्पर्क र पुरानो विवादको कारण दुबै समूहबीच वैमनस्य बढेको हो।

 

घटनापछि इलाका प्रहरी कार्यालय इटहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। पक्राउ परेकामाथि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। “दुवै समूहका संलग्नहरूमाथि अनुसन्धान भइरहेको छ र अरू संलग्नको पनि खोजी तीव्र रूपमा भइरहेको छ,” डिएसपी भण्डारीले भने।

घटनाको प्रकृति हेर्दा यो आकस्मिक झगडा नभई पूर्वनियोजित योजनामा आधारित रहेको प्रहरीको निष्कर्ष छ। घिमिरे मुख्य योजनाकार रहेको र उनको समूहमा अन्य व्यक्तिहरू पनि संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM